सेतोपाटीको समाचारलाई मात्रै बुस्ट गर्न सोबिता गौतमले खर्च गरिन् झण्डै ४५ हजार रुपैयाँ

मूलखबर संवाददाता
काठमाडौं, २० फागुन

सेतोपाटीको समाचारलाई मात्रै बुस्ट गर्न सोबिता गौतमले खर्च गरिन् झण्डै ४५ हजार रुपैयाँ

चुनाव विश्लेषण भनि चितवन–३ को सन्दर्भमा सेतोपाटी अनलाइनलाई रास्वपा नेतृ सोविता गौतमले चुनाव जित्दै गरेको दाबीसहितको समाचार सार्वजनिक गरेको थियो । जसलाई सोविता गौतमले चितवन समाचार नामक फेसबुक पेजमार्फत पटक–पटक बुस्ट गरेको पाइएको छ । उक्त समाचारलाई उनले ३ पटकसम्म १००/१०० डलर तिरेर बुस्ट गरेको भेटिएको हो ।

जुन समाचार निर्वाचन आचारसंहिता विपरित भएको ठहरसहित निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई समेत पत्राचार गर्दै कारबाहीको लागि सिफारिस गरेको थियो ।

रोचक त के छ भने, यसअघि सोही पेजमार्फत उनले ‘सत्य सुन्नुहोस्’ भन्दै रेनु दाहालले एक मञ्चमा व्यक्त गरेको भनाईको ११ सेकेण्डको टुक्रालाई चार पटकसम्म बुस्ट गरिएको थियो । जहाँ उनले चितवनमा सञ्चालित ठूला परियोजना संघीय सरकारको भएको बताएकी थिइन् । दाहालले चिवतनमा केही पनि नगरेको भन्ने भाष्य बनाउन उक्त भिडियोलाई प्रयोग गरिएको थियो ।