नेकपालाई मत दिन काठमाडौं ९ का दुई दर्जन बुद्धिजीवीकाे अपिल
फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभाकाे निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उमेदवार बनेका राधाकृष्ण महर्जनलाई मत दिएर जिताउन त्यस क्षेत्रका दुई दर्जन बुद्धिजीवीले अपिल गरेका छन् ।
निर्वाचन आउन ५ दिन बाँकी हुँदा सार्वजनिक अपिल जारी गर्दै उनीहरूले प्रत्यक्षमा महर्जनसहित समानुपातिक उम्मेदवारहरू शंकर दुलाल, नलिनी सिंह, सोनाम लामा शाक्यलाई तारा चिन्हमा मतदान गरी विजयी गराउन अपिल गरेका हुन् ।
अपिल जारी गर्नेमा हरिगोविन्द लुइँटेल, प्रा.डा. पशुपतिनाथ तिमिल्सिना, प्रा. अच्युत पराजुलीलगायत २३ जना बुद्धिजीवीकाे नाम रहेकाे छ ।
उनीहरूले अपिलमा नेपाली कम्युनिस्ट पार्टीको
तारा चिन्हमा मतदान किन ? भन्ने शिर्षकमा ६ बुँदामा नेपाली कम्युनिस्ट पार्टीलाई मत दिनुपर्ने कारणहरू उल्लेख गरेका छन् ।
यस्तो छ अपिलकाे पूरा पाठ-
काठमाडौं निर्वाचन क्षेत्र नं ९ का बौद्धिक समुदायको आह्वान !
राष्ट्रिय स्वाधीनता, संघीय गणतन्त्र र सुशासनका लागि तारा चिन्हमा मतदान !!
नेपाली कम्युनिस्ट पार्टीको
तारा चिन्हमा मतदान किन ?
✓ जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त परिवर्तन, नयाँ संविधान तथा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एवम् जेन–जी पुस्ताको मुख्य माग ‘सुशासनयुक्त शासन प्रणाली’को चाहना पूरा गर्न,
✓ विगतमा ठूला भ्रष्टाचारीमाथि कारबाही गरी सुशासनको अभियान चलाएको, १८ घण्टाको कर्कलाग्दो लोडसेडिङको अन्त्य गरेको, ऊर्जा उत्पादन र पूर्वाधार निर्माणमा उच्च प्रगति हासिल गरेको, मिटरब्याज र सहकारी पीडितको समस्या समाधान गर्ने महत्वपूर्ण कार्य सुरु गरेको, राष्ट्रिय गौरवका आयोजनाहरू सुरु गरेकोले,
✓ कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गरी समाजवादी व्यवस्था ल्याउन कम्युनिस्ट–एकता–अभियान चलाउँदै शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता जस्ता जनजीवी अधिकारहरू मार्फत सामाजिक न्याय सुनिश्चित गर्न,
✓ विचार, योजना, संघर्ष, त्याग र प्रतिबद्धताको मूल्य स्थापित गर्दै देशलाई अग्रगामी दिशामा अघि बढाउन,
✓ जेन–जी पुस्ताको नाममा सामाजिक सञ्जालमा होहल्ला, प्रचारप्रसार गरेका भरमा जनतालाई भ्रममा पारेर अराजकता सिर्जना गर्ने तत्वहरूलाई परास्त गर्न,
✓ “सुशासन र रोजगारी समाजवादको तयारी ! राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी !!” भन्ने मूल नारालाई साकार पार्न ।
नेपाली कम्युनिस्ट पार्टीका स्वच्छ, सरल, इमान्दार छवि भएका प्रत्यक्ष उम्मेदवार राधाकृष्ण महर्जन र समानुपातिक उम्मेदवारहरू शंकर दुलाल, नलिनी सिंह, सोनाम लामा शाक्यलाई तारा चिन्हमा मतदान गरी विजयी गराउन आम मतदातालाई अनुरोध गर्दछौं ।
आह्वानकर्ताहरू :
हरिगोविन्द लुइँटेल, प्रा.डा. पशुपतिनाथ तिमिल्सिना, प्रा. अच्युत पराजुली, अरुण खनाल, ई. अमृतमणि रिमाल, डा. उत्तम खनाल, प्रा. किशोरकुमार नेपाली नेवा, प्रा.डा. गोविन्द पौडेल, ठाकुर देवकोटा, तीर्थ पोखरेल, ध्रुव पौडेल, ध्रुव अधिकारी, डा. नारायणप्रसाद भट्ट, बालदेवी पौडेल, प्रा.डा. बालमुकुन्द भण्डारी, डा. पुष्पलाल जैलल शुभाल, मनुजया भट्टाई, प्रा.डा. मधुसूदन गिरी, राजनारायण नेपाली, प्रा. डा. शशिधर खनाल, डा. सन्तोष खनाल, डा. सीताराम अर्याल, डा. विष्णुप्रसाद खनाल लगायत ।





