धनुषाका मतदाता भन्छन्- मातृका यादवकाे विकल्प साेच्दैनाैं

मूलखबर संवाददाता
जनकपुर, १७ फागुन

धनुषा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढ्दै जाँदा मतदाताहरूले स्पष्ट शब्दमा भन्न थालेका छन्- “मधेसको अधिकार र राष्ट्रिय राजनीतिमा हस्तक्षेप राख्न सक्ने नेता मातृकाप्रसाद यादवको यहाँ विकल्प छैन।”

माटोको सुगन्ध र जनताको भरोसा चुनावी घरदैलोका क्रममा धनुषाका बस्तीहरूमा पुग्दा एउटा साझा गुनासो सुनिन्छ— “जितेर जानेहरूले बजेट त ल्याउलान्, तर हाम्रा भावना कसले बुझ्ने?”

स्थानीय मतदाताहरू यसपटक केवल जनप्रतिनिधि मात्र होइन, एउटा बलियो अभिभावकको खोजीमा छन्।

सबैलाका एक वृद्ध मतदाता भन्छन्, “हामीलाई केन्द्रमा गएर डराउने मान्छे होइन, हाम्रो हकका लागि गर्जने नेता चाहिएको छ। त्यो सामर्थ्य मातृकाजीमै छ।” तिर्खाएको मधेस र समाधानको आश्वासन प्रचार प्रसारका क्रममा उम्मेदवार यादवसँग भेट्दा मतदाताहरूले मधेसको मुख्य पीडा खानेपानी र सिँचाइको अभावलाई अगाडि सारेका छन्।

“खेतहरू सुक्खा छन्, धारामा पानी छैन,” स्थानीय कृषकहरूको यो व्यथा सुन्दा यादव आफैँ भावुक देखिन्थे। उनले मतदाताहरूको भावनालाई आत्मसात् गर्दै भने, “मधेसी जनताको सामूहिक भावनाको विकास नै मेरो प्राथमिकता हो। म पदमा रहँदा वा नरहँदा, यो क्षेत्रको सुखदुःखमा म सधैँ साथै थिएँ र रहनेछु।” उनले यी समस्याहरूलाई राज्यको मूलधारसम्म पुर्‍याएर समाधानका लागि अधिकतम सहजीकरण गर्ने दृढ संकल्प समेत व्यक्त गरे।

यस क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, जसपा नेपालका दीपक कार्की र रास्वपाका उम्मेदवारहरू पनि चुनावी मैदानमा छन्। तर, राष्ट्रिय राजनीतिमा रास्वपाको लहर चर्चामा रहे पनि धनुषा १ मा भने मातृकाको व्यक्तिगत कद र संघर्षको इतिहास अगाडि देखिएको छ। झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको ‘नेकपा’ का उम्मेदवार यादवले यसपटक आफ्ना पुराना असन्तुष्ट साथीहरूलाई समेत गोलबद्ध गर्न सफल भएका छन्। पूर्व माओवादी धारका नेता-कार्यकर्ताहरू यतिबेला मातृकालाई जिताउन ‘एक ढिक्का’ भएर लागेका छन्।

सामन्तवादको समूल नष्ट गर्ने कसम खाएर राजनीतिमा होमिएका मातृका यादवका लागि यो चुनाव केवल अंकगणित मात्र होइन। यो त मधेसीको पहिचान र अधिकारका लागि उनले दशकौँदेखि लड्दै आएको निरन्तर लडाइँको एउटा कडी हो।

मतदाताहरूको बुझाइमा पनि, राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने र क्षेत्रीय भावनालाई सम्मान गर्ने व्यक्तित्व नै यादव हुन्।
धनुषा १ को यो चुनावी माहोलले के संकेत गर्छ भने, यहाँका जनता यसपटक भावना र विकास दुवैलाई सँगै लिएर हिँड्ने नेतृत्वलाई जिताउन आतुर छन्।