दोलखाका विकासका लागि विशाल खड्काका योजना नै योजना
- हरेक पालिकामा कृषि फर्म सञ्चालन गरिने, प्रत्येक पालिकामा कोल्ड स्टोर
- पूर्ण विद्युतीकरण भएको जिल्ला बनाउने घोषणा
- पर्यटन प्रवद्र्धनलाई विशेष जोड
- विभिन्न जातजातिको संस्कृति संरक्षणका लागि वार्षिक बजेटको व्यवस्था गर्ने
काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टी दोलखाका उम्मेदवार विशाल खड्काले कृषि तथा पशुपालन, सिंचाइ, ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार, यातायात तथा सडक, पर्यटन र पर्यावरण, स्वास्थ्य तथा सरसफाइ, युवा तथा खेलकुद र सुशासनको क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । दोलखाका जनताको आवश्यकता र मर्म बुझेर भुगोल सुहाउँदो कार्यक्रमहरुलाई उनले आगामी योजनाको रुपमा अघि सारेसँगै उनी आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा विजयको सम्मुखमा पुगेका छन् ।
हरेक पालिकामा कृषि फर्म सञ्चालन गरिने, प्रत्येक पालिकामा कोल्ड स्टोर
खड्काले कृषि र पशुपालनमा गरेको लगानीको सुरक्षित र उत्पादनको ग्यारेण्टी सहितको कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता गरेका छन् । उनले हरेक पालिकामा सार्वजनिक र निजी क्षेत्र साझेदारी मोडलको सामुदायिक कृषि फर्म सञ्चालन गर्ने योजना अघि सारेका छन् । बन्यजन्तुले किसाको बालिनाली नष्ट गरेर सास्ती दिने गरेको भन्दै उनले यसको दीर्घकालीन समस्या समाधानका लागि क्षतिपूर्तिसहितको कानून बनाउन पहल गर्ने बताएका छन् ।
प्रत्येक पालिकामा कम्तीमा एउटा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) निर्माण गर्ने, शैलुङ, भीमेश्वर नगरपालिका र जिरीमा निर्माणाधीन कोल्डस्टोरलाई पूरा गरी सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालनमा ल्याइने उनको प्रतिबद्धता छ । वडास्तरमै कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, जिरी गाई फार्म, काब्रेको पहाडी बाली अनुसन्धान केन्द्र र बोचको बागवानी फार्मलाई व्यवस्थित गर्ने बताइएको छ ।
पूर्ण विद्युतीकरण भएको जिल्ला बनाउने घोषणा
नेकपा उम्मेदवार खड्काले जिल्लाको सबैभन्दा दुर्गम गाउँ लप्ची गाउँमा विद्युत र इन्टरनेट सेवा पु¥याइ पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गर्ने योजना बनाएका छन् । दोलखा जिल्ला विद्युत हवको जिल्ला भएको भएको भन्दै उनले २० युनिटसम्मको विद्युत निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता गरेका छन् । जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् र जलाशयको पानीलाई प्रयोग गरी हाइड्रोजन उत्पादनमा प्रोत्साहित गर्ने भनिएको छ ।
राजमार्गदेखि पालिका केन्द्रसम्म पुग्ने सबै सडक कालोपत्रे गरिने
उनले राजमार्गदेखि पालिका केन्द्रसम्म पुग्ने सबै सडक कालोपत्रे गर्ने बताएका छन् । त्यस्तै, जिल्लाका हरेक वडाहरूलाई जोड्ने सडक सञ्जाल स्तरोन्नति गर्ने तथा हरेक कृषि उत्पादनका क्षेत्रहरुलाई कृषि सडकद्वारा जोडिने बताएका छन् । सिंगटी–लामाबगर, बाबरे–साङ्वा, सिंगटी–विगू–बाह्रविसे, जफे–हावा–जिरी, मुडे–भैसे–मेलुङ, चरिकोट–बाघखोर–कालापानी जस्ता मुख्य सडक ५ वर्षभित्र कालोपत्रे गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । चीनको सिमानासम्म एक वर्षभित्र सडक जोडि पुरानो लामाबगर व्यापारिक नाका सञ्चालनमा ल्याउने बताइएको छ ।
पर्यटन प्रवद्र्धनका लागि बिस्तृत गुरु योजना बनाइने
खड्काले समग्र जिल्लालाई एउटै पर्यटन क्षेत्रको रुपमा विकास गर्न विस्तृत योजना तयार गर्ने बताएका छन् । गौरीशंकर क्षेत्रलाई हिमाली प्रकृति, संस्कृति र पर्यावरणमा आधारित विश्व आरोग्य केन्द्रमा विकास गर्ने, बेदिङ क्षेत्रलाई सगरमाथा आरोहीहरूको खुला संग्रहालयमा विकास गर्ने तथा हरेक स्थानीय तहमा स्थानीय विशेषता सहितको सामुदायिक होमस्टेहरू बनाइने उनको प्रतिबद्धता छ ।
त्यसैगरी, सामाजिक सञ्जाललगायतका सूचना प्रविधिहरूको प्रयोगमा स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, राष्ट्रियता प्रवर्धन गर्न युवा तथा नवपुस्तालाई ‘सिर्जना जागरण अभियान’ सञ्चालनमा ल्याइने बताइएको छ ।
खड्काले चरिकोटमा निर्माणाधीन रङ्गशाला पुरा गर्ने, खेलकुदको विकासका लागि पालिकास्तरीय खेलकुद विकास समिति गठन गर्ने, कालिञ्चोक–दोलखा–नागदह साहसिक साइकल मार्ग तयार गर्ने, एक विद्यालय, एक खेल शिक्षकको व्यवस्था गरी खेललाई विद्यालय तहदेखि नै विकास गर्ने उनको प्रतिबद्धता छ । विभिन्न खेलकुदका उत्कृष्ट खेलाडीहलाई निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने तथा जिल्लामा साहसिक खेलको सम्भाव्यता अध्ययन गरी आइस स्की, बन्जी जम्प, जिपलाइन, प्याराग्लाइडिङ, ¥याफ्टिङ लगायतको विकासको पहल गर्ने बताइएको छ ।
तामाङ, शेर्पा, थामी, नेवा जिरेल, सुनुवार भाषालाई स्थानीय विद्यालयको पाठ्यक्रममा लागु गर्ने, गुम्बा, मठ, जातीय पर्व, संग्रहालयका लागि वार्षिक बजेट सुनिश्चित गर्ने, लोपोन्मुख जाति सुरेल, अति सिमान्तकृत जाति थामी , सिमान्तकृत जाति सुनुवार र भूजेल तथा सुविधाबाट वञ्चित बन्चित जाति शेर्पालाई विशेष सुविधा प्रदान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
हरेक ६ महिनामा सांसद स्वयंको उपस्थितिमा पालिकास्तरमा जनसुनुवाइ कार्यक्रम गर्ने पनि नेकपा उम्मेदवार खड्काले प्रतिबद्धता गरेका छन् ।




