दलका घाेषणापत्र : भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको मुख्य प्राथमिकतामा लाेकपाल आयाेग गठन
भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव ः अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन
हालसम्मका सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन
काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयलाई मुख्य प्राथमिकता दिएको छ । नेकपाले भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउने राज्यका विभिन्न निकायहरुलाई समाहित गरि एउटा छुट्टै निकाय बनाउने प्रस्ताव गरेको छ । आफ्नो प्रतिबद्धतापत्र मार्फत् नेकपाले राज्यका सबै अङ्गमा हुने भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभागलाई समाहित गरी अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन गर्ने नेकपाले प्रस्ताव गरेको छ । भ्रष्टाचार नियन्त्रणलाई पार्टीको आधारभूत मान्यता, सोच, नीति तथा कार्यक्रमको प्रस्थानविन्दु बनाइने नेकपाको भनाई छ ।
नेकपाले हालसम्मका सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन तथा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न एक वर्ष समयसीमा रहने गरी अधिकार सम्पन्न स्वतन्त्र आयोग गठन गर्ने प्रस्ताव पनि गरेको छ ।
आगामी ५ वर्षभित्र सरकारी सेवामा ३० प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्राउने, एउटै प्रकृतिका दोहोरो भूमिका तथा जिम्मेवारी भएका निकायहरूको पुनर्संरचना गर्ने र संवैधानिक तथा सार्वजनिक निकायमा दलगत नियुक्ति तथा भागबण्डा अन्त्य गर्न योग्यता प्रणाली लागू गर्ने पनि नेकपाको प्रतिबद्धता छ ।




