रुपन्देही २ मा पाण्डेको बलियो दाबेदारी, के छन् उनका याेजना ?

मूलखबर संवाददाता
काठमाडौं

लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने, सार्वजनिक विद्यालयहरुमा निःशुुल्क बसको व्यवस्था गरिने

रुपन्देही क्षेत्र नंं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे(शुुभाष)प्रतिको जनलहर बढ्दै गइरहेको छ । युवा पुुस्ता, राष्ट्रिय राजनीतिमा योगदान गरेको व्यक्तित्व तथा जिल्लाको विकास निर्माणको काममा विगतदेखि नै योगदान दिएको आधारले उनीप्रति रुपन्देही २ का मतदाता विश्वस्त र आशावादी देखिएका छन् । उनले स्थानीय स्तरमा गरेको प्रतिबद्धताहरुले पनि उनलाई अन्य उम्मेदवारभन्दा बलियो बनाएको छ । शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता, समावेशिता, सामाजिक परिचालन र भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर उनले आफ्नो प्रतिबद्धता गरिरहेका छन् ।

सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था गर्ने प्रतिबद्धता

पाण्डेले बुटवल बहुमुखी क्याम्पसको विज्ञान संस्थानमा स्नातकोत्तर तह, एम्. फिल्, एवम् पिएचडी सञ्चालन गर्दै अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् । उनले दलीय भागबण्डाको अन्त्य गर्न पहल गर्ने, साथै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने बताएका छन् । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयलाई समय सापेक्ष विकास र व्यवस्थित गर्ने तथा बि.टी.आई. लाई इन्जिनियरिङ क्याम्पसको रूपमा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, बुटवलको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन, सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था, सडक बालबालिका, बेसहारा, अनाथ, अल्पसङ्ख्यक, सिमान्तकृत एवं अति विपन्न परिवारका बालबालिकाको विद्यालय शिक्षा सुनिश्चित गर्न पूर्ण आवासीय विद्यालय सञ्चालन गर्न पहल गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने

पाण्डेले लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अत्याधुनिक अस्पतालको रूपमा विकास गर्दै क्यान्सर उपचारको सेवा थप गर्ने बताइएको छ । साथै बिरामी कुरुवाहरूको आवास गृहको व्यवस्था गर्ने र विपन्नहरुलाई उपचारका लागि विशेष कोषको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । त्यस्तै, प्राकृतिक चिकित्सालयलाई स्तरोन्नति गर्ने, प्रत्येक वडामा चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिष्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने, जटिल स्वास्थ्य समस्या मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, दम, क्षयरोग, एच।आइ।भि। एड्स, महिलाहरूको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर तथा पुरुषहरूको प्रोस्टेट जस्ता जटिल तथा दीर्घकालीन प्रकृतिका रोगहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।
बुटवलमा रहेको कृषि संकलन केन्द्रलाई आधुनिक र व्यवस्थित बनाइने पाण्डेले जानकारी दिएका छन् । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रुकुम, रोल्पा र स्याङ्जासम्मका ग्रामीण कृषि उपजको छुट्टै ुकृषि अर्गानिक स्टोर स्थापना गर्ने बताइएको छ । बुटवल बहुमुखी क्याम्पसले भोगचलन गरेको जग्गाको स्वामित्व क्याम्पसको नाममा गराउन पहल गर्ने तथा बुटवलको जवईमा राष्ट्रिय स्तरको उजिरसिंह रङ्गशाला निर्माण गर्ने, पहेंलीभित्ता खेलमैदानमा कवर्ड हल निर्माण गर्ने, देवीनगरको एन्फा टेक्निकल सेन्टरलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

धुलोमुक्त आधुनिक सडक सञ्जाल बनाइने

पाण्डेले सबै ठाउँमा हिलो र धुलोमुक्त आधुनिक र सुरक्षित सडक सञ्जाल बनाउने प्रतिबद्धता गरेका छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र स्वामित्व कायम हुने गरी लालपूर्जाको व्यवस्था मिलाउन पहल गर्ने, सुविधा सम्पन्न आधुनिक बसपार्क, स्मार्ट पार्किङ, स्वचालित भर्टिकल पार्किङ, सार्वजनिक र घुम्ती शौचालय स्थापना गर्ने लगायतका उनका योजना छन् । सुखौरा खोला, तिनाउ नदी, दानव नदी तथा रोहिणी नदी लगायतका यस क्षेत्रमा पर्ने अन्य नदीहरूको वैज्ञानिक व्यवस्थापन गर्ने, झुम्सा खानेपानी योजना तथा तिनाउ नदीको पानीको पूर्ण प्रशोधन गर्ने लगायतका विविध योजना उनले अघि सारेका छन् ।

पार्टी सत्ता र राज्यसत्ताको शीर्ष तहमा बसेर काम गरिसकेको अनुुभव

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्य रहेका पाण्डे तत्कालिन नेकपा(माओवादी)का नेता भक्तिप्रसाद पाण्डे(चाचा)का छोरा हुन् । उनी आफ्नो बुुबासँगै बाल्यकालमै दशवर्षे जनयुद्धमा होमिएका थिए । माओवादी र तत्कालीन सात दलबीचको ऐतिहासिक १२ बुँदे समझदारी र दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरूमा उनले माओवादी शीर्ष नेतृत्वसँगै रहेर प्रत्यक्ष राजनीतिक अनुभव सँगालेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय काम गरेका विश्वदीपले अर्थमन्त्री र प्रधानमन्त्रीको स्वकीय संचिव र सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) को पछिल्लो प्रधानमन्त्री कार्यकालमा युवा तथा सामाजिक विकास विज्ञको भूमिका समेत निभाएका थिए ।
पार्टी सत्ता र राज्यसत्ताको केन्द्रमा रहेर काम गरिसकेका पाण्डे प्रतिनिधि सभा सदस्य निर्वाचित भएमा रुपन्देही २ ले बिकासको बिकासमा कायापलट हुने अपेक्षा गरिएको छ ।