कम्प्युटर बिग्रिँदा लमजुङमा ५ दिनदेखि राहदानी सेवा ठप्प
कम्प्युटर बिग्रिँदा लमजुङमा ५ दिनदेखि राहदानी सेवा ठप्प, मर्मतका लागि काठमाडौँ पठाइयो, सेवा सुचारु हुन अझै केही दिन लाग्ने ।
जिल्ला प्रशासन कार्यालय लमजुङमा प्राविधिक समस्याका कारण विगत पाँच दिनदेखि राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा अवरुद्ध छ। राहदानीको विवरण प्रविष्ट (Enrollment) गर्ने विशेष कम्प्युटरमा समस्या देखिएपछि सेवाग्राहीहरू मर्कामा परेका छन्।
प्रशासनले गत माघ २९ गते नै सूचना जारी गर्दै कम्प्युटरमा समस्या आएको र मर्मत नभएसम्मका लागि आवेदन सङ्कलन र वितरण कार्य स्थगित गरिएको जानकारी गराएको थियो। सूचना जारी भएको पाँच दिन बितिसक्दा पनि सेवा सुचारु हुन सकेको छैन।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमका अनुसार बिग्रिएको कम्प्युटर मर्मतका लागि राहदानी विभाग काठमाडौँ पठाइएको छ, तर हालसम्म बनेर आइसकेको छैन।
“हामीले मर्मतका लागि विभाग पठाएका छौँ। भोलि वा पर्सिसम्म बनेर आइपुगेमा शुक्रबारदेखि सेवा सुचारु गर्ने लक्ष्य राखेका छौँ,” गौतमले भने, “यद्यपि दुई दिनभित्रै मर्मत भएर आउनेमा अझै निश्चित भने छैन।”
राहदानी सेवाका लागि विभागबाटै लाइसेन्स प्राप्त र सुरक्षित सफ्टवेयर जडान भएका विशेष कम्प्युटर मात्र प्रयोग गर्नुपर्ने कानुनी र प्राविधिक बाध्यता छ। सहायक सिडिओ गौतमले सुरक्षा र प्रणालीगत गोपनीयताका कारण अन्य साधारण कम्प्युटरबाट सेवा दिन नमिल्ने भएकाले विभागकै भर पर्नुपरेको बताए।
पाँच दिनदेखि सेवा रोकिएपछि टाढा-टाढाबाट राहदानी बनाउन आएका सेवाग्राहीहरू रित्तै फर्किन बाध्य छन्। प्रशासनले कम्प्युटर मर्मत भई आएलगत्तै सूचना सार्वजनिक गरेर सेवा सुचारु गरिने जनाएको छ।




