लमजुङका मतदाताको रोजाइमा युवा उम्मेदवार हरिजङ तामाङ
फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभाकाे निर्वाचन आउन अब १८ दिन बाँकी छ । गण्डकी प्रदेशकाे पहाडी जिल्ला लमजुङमा पनि चुनावी सरगर्मी बढेकाे छ ।
विभिन्न पार्टीहरूका उमेदवारमध्ये सबैभन्दा युवा उमेदवार हरिजङ तामाङ लमजुङ जिल्लामा पछिल्लो समय मतदातामाझ आशालाग्दो युवा नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्। गाउँ–बस्तीमा प्रत्यक्ष भेटघाट, व्यवहारिक विकास योजना र युवामैत्री सोचका कारण उनी पूर्वदेखि पश्चिमसम्म मतदाताको रोजाइमा पर्न थालेका हुन्।

पूर्वी भेगको दुधपोखरी गाउँपालिकादेखि पश्चिमको मध्यनेपाल नगरपालिकासम्म पुग्दा तामाङको चुनावी अभियानले व्यापक गति लिएको देखिन्छ। संविधानकाे रक्षा, स्थानीय युवाको रोजगारी, कृषिमा आधुनिकीकरण, सडक तथा खानेपानी विस्तार, शिक्षा र स्वास्थ्य सेवामा पहुँचसहित जिल्लाकाे समृद्धि बढाउने एजेन्डालाई उनले प्राथमिकतामा राख्दै आएका छन्।
लमजुङमा कुल आठ स्थानीय तह रहेका छन्। तीमध्ये राइनास नगरपालिका गोर्खासँग जोडिएको छ भने कोलासोथर गाउँपालिका र मर्स्याङ्दी गाउँपालिका मनाङसँग सीमाना जोड्छन्। जिल्लाको बीच भागमा दोर्दी गाउँपालिका, बेसीशहर नगरपालिका र सुन्दरबजार नगरपालिका पर्दछन्।
यसपटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ३४ वर्षीय युवा उम्मेदवार तामाङ पहिलोपटक संघीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। उनको सामना नेकपा एमालेका ७० वर्ष नाघेका पूर्व मन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका ५४ वर्षीय गम प्रसाद गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघि पराजित भइसकेका ४५ वर्षीय धर्म केसीसँग भइरहेको छ।
उम्मेदवारहरूमध्ये जिल्लामै नियमित बसेर जनतासँग प्रत्यक्ष जोडिँदै आएका उम्मेदवार भने तामाङ नै भएको स्थानीयको भनाइ छ। प्रदेश अस्पताल बेसिशहरका अध्यक्ष बनेर प्रभावकारी सेवा प्रवाह गर्दै राम्रो काम गरेको छवि बनाएका कारण पनि उनीप्रति आम नागरिकको विश्वास बढ्दै गएको देखिन्छ।
जिल्लाका तामाङ समुदायको ठूलो हिस्सा उनको पक्षमा उभिने सम्भावना देखिएको छ भने सबैभन्दा धेरै २७ हजारभन्दा बढी मतदाता रहेको बेसीशहर नगरपालिकाबाट उनी पहिलोपटक संघीय सांसदका उम्मेदवार बनेकाले यहाँबाट पनि उल्लेख्य मत तान्ने आँकलन गरिएको छ।
घरदैलो कार्यक्रम, युवासँग संवाद र किसानसँग प्रत्यक्ष छलफल गर्दै अघि बढिरहेका तामाङले “स्थानीय स्रोत–साधनको सदुपयोग, पर्यटन प्रवर्द्धन र सीपमूलक तालिममार्फत युवालाई गाउँमै टिकाउने” प्रतिबद्धता जनाएका छन्।
यसै कारण दुधपोखरीदेखि मध्यनेपालसम्म तामाङको पक्षमा जिल्ला व्यापी माहोल बनेको भन्दै बेसीशहरका स्थानीयवासीहरू उत्साहित देखिन्छन्। उनीहरू भन्छन्—युवा ऊर्जा, इमानदार छवि र स्थानीय मुद्दाप्रतिको गहिरो प्रतिबद्धताले यसपटक लमजुङमा नयाँ राजनीतिक विकल्प स्थापित हुने संकेत देखिएको छ।




