सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस राखाैं
जेनजी आन्दाेलकी नेतृ रक्षा बमले सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस राख्नुपर्ने बताएकी छीन् । उनले राजनीतिक दलका कार्यकर्ताले अन्धभक्त भएर नेताले जे गरेपनि ठीक भन्न नहुने सुझाव दिएकी छिन् ।
रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको घटनालाइ रास्वपाका समर्थकहरूले हिजाे अाेलीले गरेझैं दाेहाेर्याएकाे बताउँदै त्यसाे नगर्न फेसबुकमार्फत सुझाव दिएकी हुन् ।
उनले लेखेकी छिन् –
सबैभन्दा पहिले, कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुने साथीहरूलाई यत्ति भन्न चाहन्छु कि आफ्नो नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड गर्न बन्द गरौँ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ।
रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ। गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको हामी सामाजिक संजालमा देख्न सक्छौँ। हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा र त्यसपछि नेतृत्वबाट आएको गैरजिम्मेवार, तल्लो स्तरको अभिव्यक्तिले हामीलाई आक्रोशित बनाएको थियो। आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्याइरहनु भएको छ।
त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला। तर अहिले मुख्य कुरा जिम्मेवारी हो। जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस् ।
याद राख्नुहोस् साथीहरू , तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ।
सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ।कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस्।




