स्पेनले ५ लाख कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत प्रदान गर्ने
स्पेन सरकारले करिब ५ लाख कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत प्रदान गर्ने भएको छ । मंगलबार जारी आदेशले कागजातविहीन हैसियतमा रहेका नेपाली श्रमिकले पनि आफूलाई स्पेनमा बस्ने कानुनी हैसियत पाउने बाटो खुलेको हो ।
पछिल्लो समयमा गैरकानुनी रुपमा रोमानिया, क्रोएसिया र बुल्गेरियाका भिसा लिई स्पेनमा गएर कागजातविहीन भएर बस्ने नेपालीको संख्या बढिरहेका छन् ।
स्पेनका सामाजिक सुरक्षा, आप्रवासन तथा समावेशीकरण मन्त्री एल्मा साइजले ‘स्पेनको जुनसुकै भागमा,जुनसुकै क्षेत्रमा पनि काम गर्न’ पाउने गरी कानुनी हैसियत प्रदान गर्ने बताइन् । ‘यो कदम स्पेनमै पहिलेदेखि बसोबास गरिरहेका आप्रवासीलाई मान्यता र सम्मान प्रदान गर्ने उद्देश्यले लिइएको हो,’ सरकारी प्रसारक आरटिभीईसँग कुरा गर्दै उनले भनेकी छन्,‘संख्या कम–बेसी हुन सक्छ तर करिब ५ लाख आप्रवासीलाई अभिलेखीकरण गर्ने सम्भावना छ ।’
यो योजना अप्रिलदेखि जुनको अन्त्यसम्म हुनेछ । यसमा स्पेनमै बसोबास गरिरहेका आवेदकका सन्तानहरू पनि समेटिनेछन् ।
आप्रवासन मन्त्रालयद्वारा जारी प्रेस नोटका अनुसार ३१ डिसेम्बर २०२५ भन्दा अगाडि स्पेन प्रवेश गरी बसोबास गरिरहेकाले आवेदन दिन पाउनेछन् । आवेदनको समयमा कम्तीमा ५ महिना लगातार स्पेनमा बसेको प्रमाण दिन सक्ने, आपराधिक पृष्ठभूमि नभएका, सार्वजनिक सुरक्षाका लागि खतरा नमानिने र ३१ डिसेम्बर २०२५ अघि शरणार्थी आवेदन दिएकालाई अभिलेखीकरण गर्न पाइनेछ ।




