छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता

मूलखबर संवाददाता
काठमाडौं, ८ माघ

चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् ।

दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना/भूलसुधार भएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो ।

यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छभने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही गरिएको छ ।

यस्तै, यस अवधिमा ६३२ वटा मिडिया/वेबपोर्टल/सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् । प्रवक्ता बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “जसमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडिया रहेका छन्, आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन एवं सचेत गराइएको छ । कुनै पनि सम्पर्क नभएका २० वटा गैरमिडियाका सम्बन्धमा अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार भएको छ ।”

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता पालना भए/नभएको विषयमा नियमित अनुगमन गरिरहेकामा निर्वाचन आचारसंहिता लागू भएको परिप्रेक्ष्यमा निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन प्रक्रिया थालनी गरेको जनाएको छ ।

“निर्वाचनको समयमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोप–प्रत्यारोप, होच्याउने, मिथ्या सूचना, दुष्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू हुनसक्ने र कुनै राजनीतिक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) आउनसक्ने र त्यस्ता सामग्रीहरू सञ्चारमाध्यमलाई प्राप्त हुन सक्ने हुँदा त्यस्ता सामग्रीलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी सदैव सजग हुनुपर्छ”, काउन्सिलले विज्ञप्तिमा भनेको छ ।