काभ्रेको महाभारत गाउँपालिकामा कफी कृषकलाई दिइयाे व्यवसायिक तालिम
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले स्थानीय किसानलाई कफी खेतीसम्बन्धी २ दिने व्यवसायिक तालिम प्रदान गरेको छ।
व्यावसायिक कफी खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले कफी खेतीलाई व्यवसायिकरण गर्दै किसानको आयआर्जन बढाउने लक्ष्यसहित गाउँपालिकाले उत्कृष्ट किसानलाई लक्षित गरी तालिम सञ्चालन गरेको हो।
तालिममा सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कफी बगैंचालाई पर्यटनको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित तालिमकाे आयाेजना गरिएको बताए ।
उनलेे भौतिक पूर्वाधारतर्फ सडक विस्तार तीव्र गतिमा भइरहेको र जनमुक्ति मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनलेे कफी खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले किसानलाई कफीको बिरुवा उपलब्ध गराउने, प्रति बिरुवा २० रुपैयाँ अनुदान दिने तथा प्राविधिक र आवश्यक उपकरण सहयोग गर्दै आएको उहाँले बताउनुभयो। गाउँमै कफी उत्पादनदेखि बजारीकरण र भविष्यमा प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिइएको जानकारी गराए ।
गाउँपालिकाको कृषि शाखाको आयोजनामा सबै वडामा अर्गानिक कफी खेती विस्तार गर्ने उद्देश्यले तालिम दिइएको कृषि प्राविधिक खिमबहादुर डाँगीले जानकारी दिए।
बिहीबारबाट सुरु भएको तालिममा प्रत्येक वडाबाट कम्तीमा ५ सयभन्दा बढी कफीका बोट भएका किसानलाई सहभागी गराइएको छ।
तालिममा कफीको बिरुवा रोप्ने चरणदेखि तयार कफी कपसम्म पुग्ने सम्पूर्ण प्रक्रियाबारे व्यावहारिक जानकारी दिइएको छ। नर्सरी स्थापना, बीउ छनोट र छर्ने, बिरुवा रोपाइँ, गोडमेल, हाँगा काँटछाँट, फल उत्पादन बढाउने उपाय, कफी टिपाइ, बोक्रा छोडाउने, सुकाउने, पिस्ने तथा बजार व्यवस्थापनसम्मका विषय समेटिएको कृषि प्राविधिक डाँगीले बताए।
‘किसानले स्वःतस्फूर्त रूपमा लगाएका कफीका बोटले राम्रो उत्पादन दिइरहेका छन् र गुणस्तर पनि उत्कृष्ट पाइएकाले महाभारत क्षेत्रमा कफी खेतीको सम्भावना अत्यन्तै उज्यालो देखिएको छ,’ उनले भने।

सम्भाव्यता अध्ययनका क्रममा महाभारत गाउँपालिकाका सबै वडामा कफी खेतीका लागि अनुकूल वातावरण देखिएकाले कफी विस्तारको कामलाई तीव्रता दिइएको हो।
तालिममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रशिक्षक तुलसीराज धितालले कफी खेतीको ऐतिहासिक पृष्ठभूमि, कफीका जात, खेतीको महत्व, महाभारतको सम्भाव्यता, खाद्यतत्व व्यवस्थापन, सिंचाइ, छहारी, काँटछाँट, रोग–किरा पहिचान तथा व्यवस्थापन, कफी टिपाइ, प्रारम्भिक प्रशोधन र बजार व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए।




