आँखामा पट्टी र हातमा हतकडीसहित राष्ट्रपति मदुराेलाई पुर्याइयाे अमेरिका
भेनेजुयलाका राष्ट्रपति निकाेलास मदुराेलाई अमेरिका पुर्याइएकाे छ । उनलाई आँखामा कालाे पट्टी र हातमा हतकडी लगाएर अमेरिका पुर्याइएकाे तस्बिर राष्ट्रपति डाेनाल्ड ट्रम्पले सार्वजनिक गरेका छन् ।
अमेरिकाले हिजाे भेनेजुयलाकाे राजधानी काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।
अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए । ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्युयोर्कमा उनीमाथि मुद्दा चलाउने बताएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले सैनिक स्रोतलाई उद्धृत गरेअनुसार मदुरो र उनकी पत्नीलाई बेडरुमबाटै तानेर अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । करिब १० घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा मदुरोको तस्बिर सार्वजनिक गरेका छन् ।
मदुराेकाे तस्बिर सार्वजनिक भएपछि अमेरिकाकाे मानवअधिकार विराेधी र मानताविराेधी हर्कतकाे विश्वव्यापी विराेध र आलोचना भएको छ ।




