फागुन २१ मा चुनाव हुन्छ भन्ने विश्वास लागेको छैन : विष्णु पाैडेल

मूलखबर संवाददाता
बुटवल, १९ पुस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्ने कुरामा आफु अझै विश्वस्त नभएकाे बताएका छन्।

शनिबार बुटवलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले साे धारणा राखेका हुन् । उनले  निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई आग्रह गरे ।

उनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्य कामहरुमा सरकारको ध्यान नगएको आराेपसमेत लगाए ।

उनले भने, ‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौँ। किनभने निर्वाचन तोकिएकै मितिमा होस् तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस्। सबै मतदाताहरुले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकून्। सबै राजनीतिक दलहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्न सकून् भन्ने हाम्रो चाहना हो। तर त्यो चाहना पूरा गर्नुपर्ने हिसाबले गर्नुपर्ने कामहरु अहिले पनि भइरहेका छैनन्।’