वीरगंज-पथलैया ६ लेन सडक खण्डकाे अतिक्रमणबारे उपमहानगरकाे स्पष्टाेक्ति

मूलखबर संवाददाता
बारा, १३ पुस

जीतपुर सिमरा उपमहानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने जीतपुर बजार क्षेत्रमा भएको  सडक अतिक्रमण हटाउन सबैले भुमिका खेल्नुपर्ने बताएको छ ।

आज त्यस सडक खण्डमा भएको सडक जाममा उपमहानगरलाई जाेडेर प्रचार गरिएपछि उपमहानगरपालिका मेयर राजन पाैडेलले गम्भीर ध्यानाकर्षण भएको बताउँदै साे सडक संविधान अनुसार उपमहानगरपालिकाकाे मातहतमा नपर्ने र संघीय सरकारकाे सडक विभाग अन्तरगत पर्ने स्पष्ट पारेकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ- सार्वजनिक सडक ऐन, २०३१ अनुसार राष्ट्रिय राजमार्गको निर्माण, संचालन र सोको दाँयावाँया २५/२५ मिटर अधिकार क्षेत्र (Right of Way) व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी संघीय सरकार मातहतको सडक विभाग (Department of Roads) मा निहित रहेको छ।

पाैडेलले आफ्नो अधिकार क्षेत्र नभएतापनि नगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग खण्डमा हुने सार्वजनिक आवागमन, ट्राफिक व्यवस्थापन, बजार अनुशासन तथा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार रहने विषयहरूमा स्थानीय सरकारको जिम्मेवारी र चासो रहने भन्दै सडक अतिक्रमण हटाउने काममा सहयाेग गर्ने बताएका छन् ।

प्रेस बिज्ञप्तिकाे पुर्ण पाठ- 
त्रिभुवन राजपथ अन्तर्गत पर्ने जीतपुर बजार क्षेत्रमा सडक मिचेर गरिएको व्यापार–व्यवसायका कारण आज सडक अवरुद्ध भई आवागमनमा असहज स्थिति सिर्जना भएको विषयमा उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस सन्दर्भमा नेपालको संविधान, २०७२ को अनुसूची-५ अनुसार राष्ट्रिय राजमार्गको अधिकारक्षेत्र संघीय सरकार अन्तर्गत पर्दछ। साथै, सार्वजनिक सडक ऐन, २०३१ अनुसार राष्ट्रिय राजमार्गको निर्माण, संचालन र सोको दाँयावाँया २५/२५ मिटर अधिकार क्षेत्र (Right of Way) व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी संघीय सरकार मातहतको सडक विभाग (Department of Roads) मा निहित रहेको छ। तसर्थ त्रिभुवन राजपथ (वीरगंज-पथलैया ६ लेन सडक खण्ड) जीतपुरसिमरा उपमहानगरपालिकाको स्वामित्व वा प्रत्यक्ष प्रशासनिक अधिकार क्षेत्रभित्र पर्ने सडक नभएको कुरा कानूनी रूपमा स्पष्ट छ ।

तथापि, नगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग खण्डमा हुने सार्वजनिक आवागमन, ट्राफिक व्यवस्थापन, बजार अनुशासन तथा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार रहने विषयहरूमा स्थानीय सरकारको जिम्मेवारी र चासो रहने भएकाले जीतपुरसिमरा उपमहानगरपालिकाले विगतका विभिन्न समयमा ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित संघीय निकायसँग समन्वय गरी सडक अतिक्रमण हटाउन, अव्यवस्थित व्यापार व्यवस्थापन गर्न, ट्राफिक सहजता कायम गर्न र सडक दुर्घटना न्युनीकरण गर्न निरन्तर प्रयास गर्दै आएको व्यहोरा जानकारी गराईन्छ ।
उपमहानगरपालिकाले पटक–पटक व्यवसायी तथा सरोकारवालाहरूलाई सडक, फुटपाथ र सार्वजनिक स्थल अतिक्रमण नगर्न आग्रह गर्दै सूचना जारी गरेको भए तापनि सोको पूर्ण पालना हुन नसक्दा आजको अवस्था सिर्जना भएको हो ।
संघीय सरकार तथा मातहतका कार्यालयहरु, सम्बन्धित व्यवसायी, नागरिक तथा सरोकारवाला सबैलाई कानुनको पालना गराउन, सार्वजनिक सडक र स्थानको अतिक्रमण हटाउन, ट्राफिक व्यवस्थापन गर्न तथा सडक सुरक्षाको पालना गराई सहज रुपमा सडक यातायात संचालन गराउन हुन उपमहानगरपालिका अनुरोध गर्दछ । साथै उक्त कार्यमा उपमहानगरपालिका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी दीर्घकालिन समाधानका लागि पहल गर्ने व्यहोरा समेत जानकारी गराउँदछौं ।
धन्यवाद ।
राजन पौडेल
ने.सं. ११४६ पोहेलाथ्व अष्टमी प्रमुख