एकीकृत परिवार योजना शिविर : ‘भ्यासेक्टोमी’ सेवा लिन पुरुषकाे रुचि कम

मूलखबर संवाददाता
कैलाली, १२ पुस

पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् । जिल्ला जनस्वास्थ्य /स्वास्थ्य कार्यालयले सम्बन्धित पालिका तहसँग समन्वय गर्दै सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आएका त्यस्ता शिविरमा स्थायी ‘मिनील्याप’ सेवा लिने महिलाका तुलनामा ‘भ्यासेक्टोमी’ सेवा लिन पुरुषले कम रुचि देखाएका हुन् ।

गत मङ्सिर ८ गतेदेखि २६ गतेसम्म कैलालीका विभिन्न १० स्थानमा सञ्चालन गरिएका घुम्ती शिविरमा दुई सय ११ जनाले परिवार योजनाका स्थायी सेवा लिएका थिए । तीमध्ये एक सय ९३ महिलाले ‘मिनील्याप’ सेवा लिँदा आठ जना पुरुषले ‘भ्यासेक्टोमी’ सेवा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरका अनुसार यस्ता शिविरमा परिवार योजनाका सम्पूर्ण साधनहरूको सेवा निःशुल्क उपलब्धता हुन्छ । ती सेवाअन्तर्गत परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण), परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने परिवार योजनाका साधन तीनमहिने सुई (डिपो), खानेचक्की पिल्स र कण्डम पर्दछन् ।

कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न समस्या एवं अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले बन्ध्याकरणमा पुरुषको रुचि कम हुने गरेको छ । गत आर्थिक वर्ष २०८१र८२ मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको शिविरमा दुई सय ४२ जनाले सेवा लिएकामध्ये महिला दुई सय २० र पुरुष २२ जना रहेको थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका वरिष्ठ जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यका अनुसार नौकुण्ड गाउँपालिकाको पारच्याङ र कालिका गाउँपालिकाको जिबजिबेमा हालै सम्पन्न ‘एकीकृत परिवार योजना शिविर’मा १९ जनामात्र सेवाग्राही रहेका थिए । तीमध्ये गत आव २०८१/८२ मा सुनौलो परिवार नेपालले सातवटै प्रदेशलाई समेट्नेगरी २८ जिल्लाका अतिदुर्गम दुई सय ८६ स्थानमा परिवार व्यवस्थापनअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सम्बन्धित स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग गरेको थियो । ती शिविरमा १० हजार १९९ महिलाले ‘मिनील्याप’ र चार सय ९७ पुरुषले ‘भ्यासेक्टोमी’ सेवा लिएका थिए भने इम्प्लान्ट र आइयुसिडी सेवा लिनेको सङ्ख्या क्रमशः दुई सय १८ र २८ जना रहेका सुनौलो परिवार नेपालका उपनिर्देशक अनिल यादवले जानकारी दिनुभयो ।