शरीरमा निक्लिएका गाँठा तथा गिर्खा के हुन्, कसरी थाहा पाउने ?

मूलखबर संवाददाता
काठमाडौं

शरीरमा निक्लिएका गाँठा तथा गिर्खामा शल्यक्रिया गर्नुपूर्व गरिने परीक्षण हो, फाइन निडल एस्पिरेसन साइटोलोजी अर्थात् एफएनएसी। यो परीक्षण विशेषज्ञता हासिल गरेका प्याथोलोजिष्टबाट गर्ने गरिन्छ।

उदाहरणका लागि स्तन, थाइराइड, काखीमा आएको कुनै पनि गिर्खा एफएनएसी गरेर त्यही दिनमा उक्त गिर्खा क्यान्सर हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ। यो परीक्षण छिटो र आर्थिक रुपमा पनि सस्तो छ।

यसैगरी शरीरभित्रको गिर्खा जस्तैः पेट भित्रको गिर्खा, फोक्सो तथा पित्तथैलीको गिर्खालाई भिडियो एक्सरे, सिटी स्क्यानको मद्दतबाट रोग भएको ठाँउ पत्ता लगाई रेडियोलोजिष्ट र प्याथोलोजिष्ट मिलेर यो परीक्षण गर्न सकिन्छ। यो परीक्षण पनि एकै दिनमा गर्न सकिन्छ र सम्बन्धित चिकित्सकसँग उपचार गर्न सकिन्छ।

बायोप्सी (शरीरबाट निकालिएको तन्तु वा गिर्खा) पूर्व यो परीक्षण गरिन्छ। यो परीक्षण गर्दा दुखाई कम हुनुका साथै शरीरका तन्तुहरुको क्षति पनि कम हुन्छ। यसका साथै रगत पनि कम बग्ने हुन्छ। यो परीक्षणको नतिजा पनि निकै राम्रो देखिएको छ।

तरिका
१. विशेषज्ञता हासिल गरेका प्याथोलोजिस्टबाट यो परीक्षण गर्ने गरिन्छ।
२. सिरिन्ज ३ एमएल, ५ एमएल, १० एमएलमध्ये कुनै गिर्खामा छिराएर त्यसको निश्चित स्थानबाट केही तन्तुहरु झिकेर सिसाको स्लाइडमा राखेर प्रक्रिया अगाडि बढाइन्छ।
३. उक्त स्लाइड माइक्रोस्कोपमा राखी त्यसको परीक्षण गरी रिपोर्ट निकालिन्छ।
४. रिपोर्टमा आएको नतिजाको आधारमा उपचार प्रक्रिया अगाडि बढाइन्छ।
५. यो परीक्षण प्याथोलोजिष्ट विशेषज्ञ चिकित्सक रहेका सबै अस्पतालमा गर्न सकिन्छ।
६. यो सरल तरिकाबाट गरिने परीक्षण हो।