नेपाल ट्रष्ट जग्गा प्रकरणमा ओलीका स्वकीय सचिवलाई पक्राउ गर्न क्रान्तिकारीकाे माग
अखिल क्रान्तिकारीले दरबारमार्गस्थित नेपाल ट्रस्टको बहुमूल्य सार्वजनिक जग्गा यती समूहसम्बद्ध कम्पनीलाई बदनियतपूर्वक लिजमा दिने प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई अविलम्ब पक्राउ गर्न माग गरेको छ ।
क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकाेटाले आज जारी गरेको विज्ञप्तिमा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले ‘घुस’स्वरूप घरजग्गा प्राप्त गरेको तथ्य सार्वजनिक हुनु गम्भीर आपराधिक तथा दण्डनीय विषय भएको उल्लेख गर्दै यदि राज्यसत्ता र शक्तिको दुरुपयोग गरेर गरिएको यस गम्भीर आर्थिक अपराधलाई ढाकछोप गर्ने, अनुसन्धान कमजोर बनाउने वा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास भएमा, अनेरास्ववियू (क्रान्तिकारी) कानुनी संघर्षसहित देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
यस्तो छ विज्ञप्तिकाे पुरा पाठ-
दरबारमार्गस्थित नेपाल ट्रस्टको बहुमूल्य सार्वजनिक जग्गा यती समूहसम्बद्ध कम्पनीलाई बदनियतपूर्वक लिजमा दिने प्रक्रिया मिलाइदिएबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले ‘घुस’स्वरूप घरजग्गा प्राप्त गरेको तथ्य सार्वजनिक हुनु गम्भीर आपराधिक तथा दण्डनीय विषय हो। यस सम्बन्धमा प्रकाशित समाचारप्रति अनेरास्ववियू (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाल ट्रस्ट ऐन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी प्रचलित कानुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को ठाडो उल्लङ्घन गर्दै सार्वजनिक सम्पत्तिलाई निजी लाभका लागि प्रयोग गर्नु राज्यसत्ता र शक्तिको दुरुपयोगमार्फत गरिएको संगठित आर्थिक अपराध हो। भक्तपुरस्थित रोजभिलेज हाउजिङमा घर ‘घुस’स्वरूप प्राप्त गरेको प्रमाण सार्वजनिक भइसक्दा पनि सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीको दायरामा नल्याइनु स्वयं राज्य संयन्त्रले अपराधलाई संरक्षण गरेको प्रमाण हो।
यसै प्रकरणअन्तर्गत गोकर्ण रिसोर्ट, तहाचल र चितवनस्थित नेपाल ट्रस्टका जग्गाहरू नियमविपरीत लिजमा दिनु तथा गोकर्ण रिसोर्टको लिज अवधि बाँकी रहँदै वि.सं. २०७६ सालमा सन् २०५० सम्मका लागि लिज अवधि थपिनु राज्यसत्ता र शक्तिको चरम दुरुपयोग, अधिकारको नांगो अपव्यय र योजनाबद्ध नीतिगत भ्रष्टाचार हो। यस सम्पूर्ण प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष संरक्षण र राजनीतिक हस्तक्षेप रहेको आशंका बलियो रूपमा उभिएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा प्रचलित फौजदारी कानुनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई अविलम्ब पक्राउ गरी निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन, यस घोटालामा संलग्न सबै राजनीतिक संरक्षणकर्ता, निर्णयकर्ता र लाभग्राहीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग कडा र स्पष्ट माग गर्दछ।
यदि राज्यसत्ता र शक्तिको दुरुपयोग गरेर गरिएको यस गम्भीर आर्थिक अपराधलाई ढाकछोप गर्ने, अनुसन्धान कमजोर बनाउने वा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास भएमा, अनेरास्ववियू (क्रान्तिकारी) कानुनी संघर्षसहित देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने स्पष्ट चेतावनी दिन चाहन्छ।




