१३ वर्षमा करिब ७६ लाख नेपाली युवा राेजगारीका लागि विदेशमा
पछिल्लो १३ वर्षमा झन्डै साढे ७६ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको ‘श्रम आप्रवासन प्रतिवेदन–२०२४’ अनुसार सन् २०११–१२ देखि सन् २०२३–२४ को १३ वर्षको अवधिमा कुल ७६ लाख ३६ हजार ८ सय २५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
मन्त्रालयद्वारा जारी सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको यो संख्या संस्थागत श्रम स्वीकृति, व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर गएकाहरूको विवरण हो । यसबाहेक श्रम स्वीकृति बिना भिजिट भिसालगायत विभिन्न तरिका अपनाउँदै सरकारलाई झुक्क्याएर तेस्रो मुलुक हुँदै बिचौलियाको पछि लागेर बिदेसिएकाहरूको संख्या यसमा समावेश गरिएको छैन । यस प्रतिवेदनमा आवश्यक सबै प्रक्रियाबमोजिम वैधानिक रूपमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या मात्र समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
सन् २०२४ सम्मको बितेका पछिल्लो १३ वर्षको अवधिमा वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये २८ लाख ४० हजार २३ जना पुनः श्रम स्वीकृति लिएर गएकाहरूको विवरण हो । यसैगरी, समीक्षा अवधिमध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरूमा पछिल्लो दुई आर्थिक वर्ष सन् २०२२–२३ र सन् २०२३–२४ मा मात्र कुल १५ लाख १२ हजार ६ सय १६ जना छन् । जसमा १ लाख ५२ हजार ३ सय ५ जना महिला कामदार रहेका छन् ।
सो प्रतिवेदनमा उल्लेख भएअनुसार कोरोना महामारीपछि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न श्रम गन्तब्यमुलुकतर्फ जाने कामदारको संख्या केही घटेको छ ।




