काभ्रे खानीखाेला ३ मा आगाे ताप्दा जलेर बृद्वाकाे मृत्यु

मूलखबर संवाददाता
काभ्रे, २० मंसिर

काभ्रे जिल्लाकाे विकट क्षेत्र भनेर चिनिने खानीखाेला गाउँपालिकामा आगलागीबाट एक वृद्वाकाे ज्यान गएको छ ।

खानीखाेला वडा नं ३ बाङ्गेमा शनिबार बिहान ९ बजेतिर आगो ताप्ने क्रममा ८४ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, घरमा एक्लै भएको बेलामा बिहान आगो ताप्ने क्रममा तामाङको कपडामा आगो सल्किएर जलेर मृत्यु भएको विवरण प्राप्त भएको छ । घटनाबारे परिवारले थाहा पाएपछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।

आगलागीबाट तामाङको घरसमेत जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पठाइएको छ ।