श्रमिककाे स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमको शुल्क बढाएकोमा चाैतर्फी विरोध शुरू
वैदेशिक रोजगारीको तयारीमा रहेका नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमको शुल्क बढाएको भन्दै सरोकारवाला संस्थाहरूले विरोध गरेका छन्।
सरकारले विनाछलफल एकपक्षीय रूपमा लागु गरेको शुल्क वृद्धि ‘अन्यायपूर्ण, अवैज्ञानिक र श्रमिकमाथिको आर्थिक शोषण’ भएको भन्दै नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघ र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ दुवै आक्रोशित बनेका छन्।
यसरी विनाजानकार वृद्धि गराएको स्वास्थ्य परीक्षण शुल्कको निर्णयलाई फिर्ता नगरे संघहरू श्रमिकसहित आन्दोलन गर्ने तयारी रहेको जानकारी गराएका छन्। युवा व्यवसायी संघले चेतावनी दिँदै भनेको छ, ‘सरकारले स्वास्थ्य परीक्षण तथा अभिमुखीकरण शुल्क वृद्धि निर्णय तत्काल फिर्ता लिएन भने संघ चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछ।’
युवा व्यवसायी संघका महासचिव कृष्ण ढकालले चेतावनी दिँदै भने, ‘कामदारको रगत–पसिना चुस्ने काम कुनै हालतमा गर्नु हुँदैन।’ स्वास्थ्य परीक्षण शुल्क सुधार, पारदर्शिता र श्रमिकमैत्री नीति हुनुपर्ने उनले बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर १० देखि लागु हुने गरी स्वास्थ्य परीक्षण शुल्क नौ हजार पाँच सय रुपैयाँ पुर्याएको घोषणा गरेपछि संघहरूले यसलाई ‘अकल्पनीय निर्णय’ भन्दै विरोध जनाएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको विज्ञप्तिमा शुल्क वृद्धि सम्बन्धमा कुनै छलफल, सूचना वा समन्वय नै नगरिएको उल्लेख छ। मन्त्रीविहीन मन्त्रालयले प्रधानमन्त्रीकै मातहत अवैज्ञानिक तरिकाले निर्णय कार्यान्वयन गर्नु सुशासन र पारदर्शितामाथिको प्रत्यक्ष प्रहार भएको छ। विज्ञप्तिमा श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तथा अभिमुखीकरण शुल्क वृद्धि सम्बन्धमा संघसँग कुनै छलफल, सूचना वा समन्वय नभएको उल्लेख छ।
स्वास्थ्य परीक्षणका नाममा ३४ नयाँ परीक्षण थपेर शुल्क दोब्बर पारिएको छ। धेरै परीक्षण गन्तव्य देशका लागि अनिवार्य नै छैनन्। वास्तविक परीक्षण लागतभन्दा धेरै गुणा बढी शुल्क तोकिएको छ।




