नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होईन, यसकाे रक्षा गराैं
केही स्वार्थसमूहबाट प्रेरित मानिसहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन” सँगै ‘तत्काल संविधान संसोधन’ लेखिएको ड्राफ्ट अहिले शहरभरी घुमिरहेको हल्ला छ । गत शुक्रबार मात्र, प्रधानमन्त्री र एमाले नेताहरूबिच भएको भेटमा पनि यस ड्राफ्टबारे कुरा उठेको भनेर नेपालप्रेसले समाचार समेत बनाएको छ । स्पष्ट पारौं यस्तै ड्राफ्ट पछिल्लो समय मात्र नभई, सेप्टेम्बर ९ तारिक अर्थात भदौ २४ को दिनदेखि नै मानिसहरुको हातहातमा पुगिरहेको थियो । हामीले पटक पटक यस बिषयमा अबरोध गरेका नै हौ ।
नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होईन । बर्षौको समय र हज्जारौंको बलिदानपश्चात बनेको संविधान हो यो । केही स्वार्थप्रेरित मानिसहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेका छन् र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनिरहेका छन् । बिभिन्न समूहका जेन जी साथीहरुसँग यसबारेमा छलफल हुँदा पनि हामीले यी कुराहरु उठाएका थियौं/छौं। जेन जी साथीहरुले मात्र नभई समाजलाई बिभिन्न तरिकाले प्रभावमा पार्न सक्ने व्यक्तिहरुसमेत यस्तै ड्राफ्टलाई छलफलमा ल्याउदै हिडेको हामीले थाहापाएका छौं। कतिपय जेन जी साथीहरु त आन्दोलनमा समेत आउनुभएको थिएन । र कतिपय साथीहरुलाई त संविधान भनेको के हो समेत थाहा थिएन। उहाँहरुलाई लाग्छ, यो व्यवस्था उल्टाउने बित्तिकै जादुको छडी घुमाएजसरी सबैथोक एकै रातमा परिवर्तन भईहाल्ने वाला छ ।
तर हेक्का रहोस, देश भनेको जादुको छडीले चल्ने चीज होईन । देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ ।उल्लिखित मुद्दाहरुको बिषयमा व्यापक छलफल हुनु जरुरी छ । हामी संविधान पुनरावलोकनको पक्षमा नै छौ तर त्यसका लागि जनादेश जरुरी छ । हामी लोकतान्त्रिक विधीलाई मान्दछौ । संविधान संसोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईहरु चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी बिषयहरुलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ । त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।
यस संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरु होसियार।छोटो बाटो खोजेर, देशलाई थप अनिश्चितता तर्फ धकेल्नका लागि खेलिने हरेक खेलको हामी बिरोध गर्नेछौ र डटेर सामना गर्न पनि तयार छौं।साथसाथै, यस नागरिक सरकारको लागि आन्दोलनले स्पष्ट म्यान्डेट दिईसकेको छ । र नागरिक सरकार कुनैपनि हालतमा आन्दोलनको म्यान्डेटभन्दा बाहिर जादैन/जान पाउदैन भन्ने कुरामा हामी विस्वस्त छौं।




