रोङ गाउँपालिकाकाे गजबका काम : अभिभावकविहीन बालबालिकालाई १२ सम्म निःशुल्क शिक्षा र उपचार
इलामको रोङ गाउँपालिकाले गजब राम्राे काम गरेकाे छ । यहाँका २१ जना अभिभावकविहीन बालबालिकाहरूलाइ निशुल्क शिक्षा दिने भएकाे छ । उनीहरूको जीवनमा पहिलोपटक स्थिरता, सुरक्षा र भविष्यको आधार थापिदिएको छ ।
‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ मार्फत पालिकाले अभिभावकविहीन तथा विपन्न बालबालिकाका लागि आशा र भरोसाको नयाँ दियो बालेको हो । दुई वर्षअघि उधमशीलता र सामाजिक उत्तरदायित्वलाई जोडेर तयार पारिएको कार्यविधि कार्यान्वयनमा आएको दिनदेखि नै पालिकाले बालबालिकाका जीवनमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही प्रतिवद्धता बिहीबार व्यवहारमै देखियो । जब २१ जना अभिभावकविहीन बालबालिकाले आफूलाई ‘गुमेको’ होइन, ‘गुमेको ठाउँमा हात समात्ने कोही छ’ भन्ने अनुभूति गरे ।
गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष मनिकुमार स्याङ्वोले ती बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै भावुक हुँदै भने,‘यो मेरो ड्रिम प्रोजेक्ट थियो, आज आएर पूरा भएको छ ।’ यसो भनिरहँदा उनको आवाजमा गर्व र जिम्मेवारी दुवै मिसिएको थियो ।
कार्यक्रमले बालबालिकाको स्वास्थ्य, शिक्षा र आर्थिक सुरक्षाको पूर्ण ग्यारेन्टी गरेको अध्यक्ष स्याङ्वोले जनाए । ‘यी बालबालिकाको सम्पूर्ण उपचार खर्च पालिकाले नै बेहोर्छ । १२ कक्षासम्मको शिक्षा निःशुल्क उपलब्ध गराउँछौं,’ उनले भने, ‘साथै, बैंक खातामा नियमित बचत गर्दै उनीहरूको भविष्य सुरक्षित गर्ने आर्थिक आधार बनाइदिनेछौं ।’




