पूर्व सभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा, जिल्लाको आदेश नमिलेको उच्चकाे ठहर

मूलखबर संवाददाता
ललितपुर, ११ मंसिर

पूर्व सभामुख  कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई  २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको थियाे।

बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।

‘तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा तहाँ अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ,’ आदेशमा भनिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भेपमार्फत सुन तस्करी प्रकरणमा सुरूमा मुद्दा चलाएको थिएन। तर पछिल्लो समय जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

उनलाई ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गरिएको थियो। जिल्ला अदालत काठमाडौंको आदेशविरूद्ध महरा उच्च अदालत पाटनमा पुगेका थिए।