हङकङको ३२ तले भवनमा आगलागी हुँदा कम्तिमा ४४ को मृत्यु
हङकङको ताइ पो जिल्लास्थित एउटा ३२ तले भवनमा बुधबार आगलागी हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ। दिउँसोदेखि सुरू भएको आगलागीमा हालसम्म ४४ जनाको मृत्यु भइसकेको र २७९ जना अझै सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रको ३२ तले भवनबाट आगो सल्किएको थियो। त्यसले वरपर रहेको अरू भवनहरूमा समेत आगो फैलिएको छ। सैयौं अग्नियनियन्त्रक र दमकल आगो निभाउने प्रयत्न गरिरिहेको भएपनि १६ घन्टादेखि ती आवासीय क्षेत्रमा आगलागी भइरहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
उद्धारकर्मीहरू अझै जलिरहेका अग्ला अपार्टमेन्ट भवनबाट बासिन्दालाई बाहिर निकाल्ने प्रयासमा जुटिरहेका छन्। आगलागी भएको आवासीय भवनमा करिब २ हजार अपार्टमेन्ट थिए।
जसमा धेरै वृद्धवृद्धा पनि थिए। ४४ मृतकमध्ये ४० जनालाई घटनास्थलमै मृत घोषणा गरिएको हो भने कम्तीमा ६२ जना घाइते भएका छन्। घाइतेहरूमा गम्भीर जलन र धुवाँ सास फेर्दा भएका समस्या देखिएको छ।




