त्रिविसभामा नीति कार्यक्रम पारित, जग्गा सम्वन्धी प्रतिवेदन कार्यान्वयन गरिन्छ : शिक्षामन्त्री
शिक्षामन्त्री महावीर पुनले त्रिविको जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । बुधबार त्रिवि सभा बैठकमा बोल्दै उनले प्रतिवेदन कार्यान्वयन गरेसँगै राजनीतिक भागबन्डा अन्त्य गरेर विश्वविद्यालयको सुधार गर्नुपर्ने जनाए ।
त्रिवि नीति तथा कार्यक्रममा पनि प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख छ । करिब २५ रोपनी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदनका आधारमा अख्तियारले छानबिन थालेको छ ।
मन्त्री पुनले त्रिविका ४ वटा अनुसन्धान केन्द्रलाई सक्रिय बनाउनु पर्ने बताए । ‘अनुसन्धान केन्द्रले गर्ने काम बाहिरका कनसल्टेन्सीले गरेपछि संकटमा परेको रहेछ । हेलामा परेको हो । अब बजेट छुट्याएर अनुसन्धानमा सक्रिय बनाउनु पर्छ,’ उनले भने ।
विश्वविद्यालयले प्राज्ञिक र प्रविधिसँग जोडिएका अनुसन्धानमा जोड दिनुपर्ने शिक्षामन्त्री पुनको सुझाव छ । आविष्कारजन्य अनुसन्धान नभएसम्म देशको अर्थतन्त्रमा सुधार नहुने उनको भनाइ छ । युवाहरूलाई अनुसन्धानमा सहभागी गराएर उत्पादन गर्नु पर्नेमा उनले जोड दिए । त्रिविलाई शैक्षिक क्यालेन्डर कडाइपूर्वक लागू गर्नसमेत उनले निर्देशन दिए । उनले भने, ‘समयमा परीक्षा नभएको, परीक्षा भए पनि नतिजा नपाएको, प्रमाणपत्र लिन झन्झटिलो रहेको गुनासो व्यापक छ । सुधार गर्नु होला ।’
त्रिविकाे नीति कार्यक्रम पारित
प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा किर्तिपुरमा बसेको त्रिवि सभा बैठकमा उपकुलपति दीपक अर्यालले नीति तथा कार्यक्रम पेस गरेका नीति तथा कार्यक्रम पारित गरिएको छ ।
नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन सरक्षण गर्न तारबाा र घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारका निकायमार्फत कारबाही गरिने, काठमाडौंबाहिरका जग्गा खोजबिन गर्न समिति गठन गरिने उल्लेख छ । क्याम्पसहरूको समेत जग्गा जमिन खोजी गर्ने त्रिविले जनाएको छ ।
प्राध्यापक कर्मचारीलाई सेवा प्रवेश तालिम अनिवार्य गरिने, विदेशमा रहेका नेपालीलाई अनलाइन कक्षा सञ्चालन गर्ने, शैक्षिक प्रमाणपत्र प्रदेश स्थिति परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गर्ने जनाइएको छ । उपकुलति अर्यालले विश्वविद्यालय र परीक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजाने घोषणा गरे । नयाँ विषय र कार्यक्रममा सम्बन्धन वितरण गर्ने र थोरै विद्यार्थी भएका क्याम्पस र कार्यक्रम समायोजन गरिने उनले जनाए ।
त्रिविसहित अनुसन्धान निर्देशनालयलाई पुनर्संरचना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उत्कृष्ट अनुसन्धान गर्ने प्राध्यापक र अनुसन्धानकर्तालाई पुरस्कृत गरिने नीति त्रिविले लिएको छ । अनुसन्धान कोषको रकम पनि बढाइने जनाइएको छ । ‘त्रिविमा विदेशी विद्यार्थीको भर्ना प्रक्रिया सहज बनाई सख्या वृद्धि गरेर अनुसन्धानमा जोड दिइनेछ,’ उनले भने ।




