चीनको शीर्ष व्यापारिक साझेदार बन्याे जर्मनी
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो करवृद्धि नीति सुरु गरेपछि जर्मनी चीनको शीर्ष व्यापारिक साझेदारको रूपमा आफ्नो पूरानो हैसियतमा फर्केको चीनको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।
सङ्घीय तथ्याङ्क निकाय डेस्टाटिसका अनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र चीनबीचको कुल व्यापार सामान्य बढेर १८६ अर्ब युरो (झण्डै २१५ अर्ब अमेरिकी डलर) पुगेको छ।
यो अवधिमा जर्मनी र अमेरिकाबीचको व्यापार करिब चार प्रतिशतले घटेर १८५ अर्ब युरोमा झरेको छ । चीन सन् २०१६ देखि २०२३ सम्म जर्मनीको शीर्ष व्यापारिक साझेदार थियो तर बर्लिनले चीनमाथिको लामो समयदेखिको आर्थिक निर्भरता कम गर्न खोजेको कारण सन् २०२४ मा संयुक्त राज्य अमेरिका शीर्ष स्थानमा पुगेको थियोे।
“यो घटनाक्रमले ‘अमेरिकी करले अमेरिकातर्फ जर्मनीको निर्यातमा पारेको नकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्दछ,” आइएनजीका अर्थशास्त्री कास्र्टेन ब्रेजेस्कीले एएफपीसँग बताउनुभयो । जुलाईमा भएको सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकामा इयूको निर्यातले १५ प्रतिशतको आधारभूत करको सामना गर्नुपर्नेछ, जुन ट्रम्प कार्यकालमा फर्कनु अघिको भन्दा धेरै बढी हो।
पहिले नै संघर्षरत जर्मन अर्थव्यवस्थाको लागि यो करवृद्धि ठूलो बोझ हो। कारदेखि फार्मास्यूटिकल्ससम्मका सामानहरूका लागि अमेरिका जर्मनीको शीर्ष निर्यात बजार हो र जर्मनीले संयुक्त राज्य अमेरिकासँग ठूलो व्यापार बचत गर्छ।
यो समाचारले चीनसँगको गहिरो आर्थिक सम्बन्धलाई खुकुलो बनाउने प्रयासमा जर्मनीको चुनौतीलाई पनि चित्रण गरेको ब्रेजेस्कीले बताउनुभयो । “यसले जर्मन अर्थतन्त्र र विशेष गरी उद्योगको लागि सेमिकन्डक्टर बनाउन आवश्यक पर्ने दुर्लभ खनिज र चीनबाट प्राप्त अन्य आपूर्तिका सामानहरूमा निरन्तर निर्भरता देखाउँदछ,” उहाँले भन्नुभयो ।
जर्मनीले चीनसँग ठूलो व्यापार घाटा व्यहोरिरहेको छ। एलबिबडब्ल्यू बैङ्कका विश्लेषक जेन्स–ओलिभर निकलासले एएफपीसँग भन्नुभयो, “चीनलाई अब व्यापारिक साझेदारभन्दा प्रतिस्पर्धीका रूपमा बढी हेरिन्छ ।”
चीनलाई अब जर्मन निर्यातको लागि एक प्रमुख बजारको रूपमा मात्र हेरिएको छैन, धेरै चिनियाँ कम्पनीहरू हालैका वर्षहरूमा शीर्ष जर्मन कम्पनीहरूको प्रतिस्पर्धीका रूपमा देखा परेका छन्। अर्थमन्त्री लार्स क्लिङबील यस हप्ता चीनको भ्रमणमा रहेका समय यो समाचार आएको हो।




