बंगलादेशी सत्ताच्युत प्रधानमन्त्री हसिनालाई मृत्युुदण्डकाे सजायाँ सुनाइयाे

मूलखबर संवाददाता
काठमाडौं, १ मंसिर

बंगलादेशमा भएको विद्राेहपछि सत्ता छाडेर भाग्न बाध्य भएकी बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

उनकाे नेतृत्वको सरकारले विद्राेही विद्यार्थी माथि दमन गरेको र आन्दोलनलाई उक्साएकाे आराेप थियाे ।

हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘बिबिसी’ ले जनाएको छ।

गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधीकरणले यस्तो फैसला सुनाएको हो।

भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो। ४५३ पृष्ठको फैसलालाई न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ६ भागमा विभाजन गरी अदालतमा वाचन गरेका थिए। यो फैसला बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।