अब मतदाता नाम दर्ता सहज, राष्ट्रिय परिचय पत्रकाे बायोमेट्रिक्स प्रयाेग हुने
निर्वाचन आयोगले मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्यांक (बायोमेट्रिक्स) प्रयोग गर्ने भएको छ । मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पहिल्यै संकलित जैविक तथ्यांकलाई मतदाता नामावलीका लागि प्रयोग गर्ने निर्णय भएको छ,’ उनले भने । आयोग र विभागले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर यसलाई अगाडि बढाउने प्रेस संयोजक रावलले जानकारी दिए । राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई यसले सहज बनाउने उनले बताए ।




