भारतकाे विहारमा विधानसभाकाे निर्वाचन शुरू, नेपाली नाका बन्द
दक्षिणी छिमेकी देश भारतकाे विहारमा विधानसभाको निर्वाचन आजबाट सुरु भइसकेको छ । ११ नोभेम्बर अर्थात २५ कात्तिकमा त्यहाँ दोस्रो चरणको निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात कात्तिक २५ गते मंगलबारसम्म नाका बन्द रहनेछ ।
बिहारमा बिहीबार पहिलो चरणको निर्वाचन सुरु भएकाे छ । यद्यपि अहिले भने सीमा नाका बन्द गरिएकाे छैन । अहिले सीमा नाकामा नेपाल–भारत दुवै तर्फबाट कडाइ गरिए पनि आवतजावत बन्द भने नरहेको सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।
ती अधिकारीका अनुसार सीमा नाका बन्द गर्नेबारे भारतीय पक्षले मौखिक रुपमा भने पनि औपचारिक पत्र आएको छैन । ‘नेपालतर्फ निर्वाचन हुँदा भारतीय पक्षले सहयोग गर्ने र भारततर्फ हुँदा नेपालबाट सहयोग गरिँदै आएको छ । सोही अनुरुप निर्वाचनलाई लक्षित गरी सीमा नाका पूर्ण रुपमा सिल गर्न लागिएको हो । भारतीय पक्षले नाकालाई पूर्ण रुपमा सिल गरिदिन भनेका छन्,’ ती अधिकारीले भने । नाका बन्द हुँदा दुवै देशका नागरिकलाई सीमा प्रवेशमा निषेध गरिने जनाइएको छ ।




