गर्भपतन बढ्दो, रोकिएन असुरक्षित गर्भपतन
बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको छ । आव २०८०/ ८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।
अर्काेतर्फ अझै पनि ‘लाज र डर’का कारण औषधि मार्फत् ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ । यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन् । जिल्लाका १० स्थानीय तहका २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गर्दछन् । ती मध्ये बागलुङमा ३ , गलकोटमा चार , जैमिनीमा दुई , ढोरपाटनमा तीन , काठेखोलामा ७ , निसीखोलाा दुई , तमानखोलामा एक , ताराखोलामा दुई , बडिगाडामा एक र बरेङको एउटा स्वास्थ्य संस्था छन् । असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण सेवाग्राहीले सूचिकृत स्वास्थ्य सस्थाबाट गर्भपतन सेवा लिने जनाइएको छ ।
कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको तीन महिनामा १७२ जनाले सूचिकृत स्वास्थ्य सस्था मार्फत् गर्भपतन सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार जसमा २० वर्ष मुनिका छ जना रहेका छन् ।
सूचिकृत स्वास्थ्य संस्थामा भन्दा अन्यत्र गर्भपतन सेवा लिने जिल्लामा कायमै रहेको जनाइएको छ । सूचना घिमिरेले भन्नुभयो, “कतिपयले आफ्नो स्वास्थ्य नै जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने गरेको छन् । धेरै समस्या भएपछि सूचिकृत स्वास्थ्य सस्थामा आउने सेवाग्राही समेत हुन्छन् ।”
बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत निरीक्षक पार्वती अर्यालले सूचिकृत स्वास्थ्य सस्थामा दोहोरिएर गर्भपतन सेवा लिन आउनेको पनि सङ्ख्यामा बृद्धि भइरहेको जानकारी दिनुभयोे । उहाँका अनुसार पछिल्ला समय परिवार व्यवस्थापनका लागि स्थायी तथा अस्थायी साधन प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या मा बृद्धि भएको हो । अस्पतालमा अविवाहित किशोरी पनि गर्भपतन सेवाका लागि अस्पतालमा आउने गरेको जनाइएको छ ।
“उमेर पुगेका महिलादेखि अविवाहित किशोरी र अन्य महिला पनि गर्भपतन सेवा लिन आउनुहुन्छ, अशिक्षा र असाबधानीका कारण गर्भपतन गराउनुपर्ने बाध्यतामा उनीहरु हुन्छन्” उहाँले भन्नुभयो “असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्यामा अहिले केही कमी आएको छ, तर अस्पताल बाहिर असुरक्षित रुपमा गर्भपतन गराउनेहरु पनि हुन्छन्, लाज र डरले गर्दा उनीहरु अस्पताल आउँदैनन्, औषधि खाएर गर्भपतन गराउँदछन् ।”




