पाङ्बारी हिमालमा फसेका तीन इटाली आरोहीमध्ये एकको उद्धार

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

गोरखाको पाङ्बारी हिमालमा पाँचदिनदेखि फसेका तीन इटालीका नागरिकमध्ये एक जनाको उद्धार भएको छ भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाँच हजार मिटर उचाइमा अवस्थित आधार शिविरमा रहेका ६५ वर्षका भेल्टर परलिनोको आज बिहान १० बजे हेलिकप्टरमार्फत उद्धार गरी चुमनुब्री–१ साम्दोमा ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको साथमा रहनुभएका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकप्टरबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प–१ मा रहेका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तीन इटालीका आरोही र तीन नेपाली सहयोगी गत बुधबारदेखि पाङ्बारी हिमालको आधार शिविरमा फसेका थिए ।