पहिरो खस्दा प्रमुख राजमार्ग अवरुद्ध
बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका हुन् ।
पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएका प्रहरीले जनाएकाे छ ।
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उहाँले बताउनुभयो ।
निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राससलाई बताउनुभयो ।
अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो । मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।




