बाँकेमा थपिए ४१५ जना नयाँ मतदाता
बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् ।
विशेष मतदाता नामावली सङ्कलन सुरु भएपछि असोज महिनाको एक साताको अवधिमा मात्रै ४१५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँले अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकांश युवा पुस्ता भएको जानकारी दिँदै ३५ वर्ष कम उमेर समूहका बढी भएको बताउनुभयो । “मतदाता नामावली सङ्कलन दैनिकजसो बढ्दै गएको देखिएको छ”, उहाँले भन्नुभयो ।
जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्ज, बाँकेले असोज ६ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि स्थानीय तहलगायतका सम्बन्धित स्थानमा सूचना जारी गरी पत्राचार गरेको थियो । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली दर्ताका लागि आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भई आएमा विवाहको प्रमाणपत्र, बाहिरी जिल्लाकालाई समेत कागजातका आधारमा दर्ता गर्न सकिने भनेर स्थानीय तहलाई आग्रह गरेको थियो ।
मतदाता नामावली अद्यावधिका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता रहेको बताउनुभयो । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता हुनुहुन्छ ।




