इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

मूलखबर संवाददाता
काठमाडौं, २३ असाेज

सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

यही असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो र बाढीमा परी पूर्वी पहाडी जिल्ला इलाममा ३९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सोही घटनामा परी एक जना बेपत्ता र २६ घाइते भएका थिए। बाढी र पहिरोबाट इलामको सडक सञ्जालमा ठूलो क्षति पुगेको छ।