बाढी पहिराेबाट भएको जनधनकाे क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त
नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले केहीदिनदेखी आएकाे अविरल वर्षा र बाढी पहिराेले भएको जनधनकाे क्षतिप्रति दुःख ब्यक्त गर्नुभएको छ ।
आज एक प्रेस नाेट सार्वजनिक गर्दै प्रचण्डले प्राकृतिक विपदाबाट २७ जनाले ज्यान गुमाएको उल्लेख गर्दै ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
नाेटमा उहाँले पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देसित गर्दछु। साथै सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष (Help Desk) स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्नुभएको छ ।
नाेट यसप्रकार छ –
विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु।
इलामका विभिन्न स्थानमा पहिरोमा परी हालसम्म १८ जनासहित पाँचथर लगायतका स्थानमा २७ जनाको ज्यान गएको र कैयौं वेपत्ता भएको अत्यन्त पीडादायी खबरले दुखित बनाएको छ। त्यस्तै, रसुवामा पनि केही वेपत्ता हुनुका साथै देशका अन्य क्षेत्रमा धेरै घर, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्। पशुबाली र अन्नबालीमा ठूलो क्षति पुग्नुका साथै जनजीवनमा गम्भीर असर परेको छ।
यस दुखद क्षणमा प्राकृतिक विपदाबाट ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
अझै पनि जोखिम पूर्ण रूपमा हटेको छैन। त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्दछु। हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देसित गर्दछु। साथै सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष (Help Desk) स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु ।




