मडागास्करमा भएकाे विद्राेह के हाे ? कसरी हुन्छ समाधान ?
दक्षिण अफ्रिकी मुलुक माडागास्करमा २५ सेप्टेम्बर २०२५ देखि निरन्तर भइरहेको व्यापक जनआन्दोलनको सुरुआत राजधानी एन्टानानारिभोका विभिन्न स्थानहरूमा युवाहरू र विद्यार्थीहरूले गरेको प्रदर्शनबाट शुरू भएको थियो। निरन्तरको लोडसेडिङ, पानी आपूर्ति नआउने अवस्था र सरकारको उदासीनतालाई मुख्य कारण बनाउँदै उनीहरूले सडकमा उत्रिँदा सुरक्षाकर्मीहरूले टियर ग्यास र रबरका गोली प्रयोग गरी नियन्त्रणमा लिने प्रयास गरे। सोहि रात राजधानीमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरियो, तर आन्दोलन थामिएन। २६ र २७ सेप्टेम्बरसम्ममा आन्दोलन अन्य शहरहरू जस्तै एन्टसिरानेना र टोलिआरा हुँदै देशव्यापी रूपमा फैलियो। केही ठाउँमा सरकारी अधिकारी र नेताहरूका घरमा आक्रमण तथा आगजनी समेत भए ।

२९ सेप्टेम्बरमा आन्दोलन निर्णायक मोडमा पुगेको देखियो । विद्यार्थी र युवाहरूले खुलेरै राष्ट्रपति एन्ड्री राजोएलिनाको राजीनामा माग गरे। दबाब बढ्दै जाँदा राष्ट्रपतिले प्रधानमन्त्री क्रिष्टियन एन्ट्से सहित सम्पूर्ण मन्त्रिपरिषद्लाई बर्खास्त गर्दै सरकार विघटनको घोषणा गरे, तर आन्दोलनकारीहरूले यसलाई पर्याप्त मानेनन् र “सरकारको संरचनात्मक परिवर्तन नभएसम्म आन्दोलन जारी रहने” उद्घोष गरे। संयुक्त राष्ट्रसंघले यसबीचमा कम्तीमा २२ जनाको मृत्यु र सयौँ घाइते भएको तथ्य प्रस्तुत गरेको भए पनि माडागास्कर सरकारद्वारा उक्त तथ्याङ्कलाई अस्वीकार गरियो।
३० सेप्टेम्बर र १ अक्टोबरमा प्रदर्शनकारीहरू पुनः ठूलो संख्यामा सडकमा फर्किए। सिनेट अध्यक्षको गाडी अवरुद्ध पारिएको घटना र पत्रकारहरू माथि आक्रमणका समाचारहरूले आन्दोलन आणविक रूप लिएको संकेत दिए। मजदुर संघ, नागरिक समाज र अन्य पेशेवर समूहहरू समेत आन्दोलनमा जोडिएपछि यो केवल युवा आन्दोलनमा सीमित रहेन। २ अक्टोबरमा स्वास्थ्य सुरक्षाको कारण देखाउँदै राजधानीमा २४ घण्टाका लागि मार्च स्थगित गरिएको घोषणा गरिए पनि अन्य शहरहरूमा प्रदर्शन निरन्तर जारी रह्यो।
यो आन्दोलनले केवल राजनीतिक असन्तुष्टि होइन, राज्यले आधारभूत सेवाहरू उपलब्ध गराउन असफल हुँदा नागरिकहरूले देखाएको गहिरो आक्रोशझैं रूपमा आफूलाई स्थापित गरिरहेको छ। राष्ट्रपति सरकारले मन्त्रीपरिषद् विघटन गरेर असन्तुष्ट जनतालाई शान्त पार्न खोजेपनि, अब जनताको माग केवल ऊर्जा संकट समाधान नभई शासन प्रणालीमै परिवर्तनतर्फ केन्द्रित हुँदै गएको प्रष्ट देखिन्छ।




