माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि, समुहबाट धारणा राख्ने
राजधानिमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दाेस्राे दिन पनि बस्ने भएको छ ।
बिहीबारबाट राजधानी काठमाडौंमा सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे विशेष महाधिवेशन गर्नेसहितकाे समसामयीक राजनीतिक तथा सांगठनीक प्रस्ताव पेश गर्नुभएकाे थियाे ।
जेन जी आन्दोलनपछि गैर दलिय सरकार छ, निर्वाचन घाेषणा भएको छ, युवा जेनजी आन्दोलनको भावना र आम जनमानसको मनाेभावना अनुरूप सबै दलहरूमा नेतृत्व परिवर्तन र रूपान्तरणको दबाब बढेकाे छ ।
यही समयमा प्रमुख राजनीतिक दल मध्येको एक दल समतामुलक समावेशी र सामाजिक न्यायसहितकाे राज्य स्थापनाकाे लागि जनयुद्धकाे पहलकर्ता नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समितिकाे साताैं बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक संक्षिप्त गहन राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै पार्टीको रूपान्तरण र शुद्धीकरण तथा सुदृढीकरणका लागि विशेष महाधिवेशनमा जानेगरी केन्द्रीय समिति विघटन गर्ने र आयाेजक समिति बनाउने त्यसकाे संयाेजक प्रचण्ड रहने र पदाधिकारीलाई सचिवालय सदस्य बनाएर प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्ने प्रस्ताव ल्याउनुभएकाे छ । त्यसैगरी समयमै निर्वाचन गराउन पार्टी लाग्ने स्पष्ट कार्ययाेजना ल्याउनुभएकाे छ । यसमा स्वयं प्रचण्ड पनि कार्यकर्ताबीचमा परीक्षा दिन तयार भएको देख्न सकिन्छ ।
तर प्रचण्डले त्यसाे भनिरहेका बेला वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल प्रचण्डले अध्यक्ष पद त्यागेर आफुलाई कार्यबाहक अध्यक्ष ताेक्नुपर्ने र चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने माग गर्नुभएको छ भने उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारीले छाड्ने र आगामी महाधिवेशनमा समेत उमेदवार बन्न नपाउनेगरी विशेष महाधिवेशन गर्न माग गर्नुभएको छ ।
विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् ।
टाेली नेताहरूकाे सुझाव पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएकाे छ । सकेसम्म बैठक आजै सक्ने तयारी छ ।





