के प्रचण्डको राजनीतिक औचित्य सकिएको हो ?
१. आज लहडका आधारमा केही माओवादी पार्टी भित्रका तरमाराहरु प्रचण्डको बिकल्पको कुरा गरेर सस्तो लोकप्रियताको लागि पुस्तान्तरणको कुरा उठाइरहेका छन् । म ती तरमारालाई प्रश्न गर्न गर्न चाहान्छु कि के यो Gen-Z आन्दोलनको एजेन्डा पुस्तान्तरण थियो त ? यदि पुस्तान्तरण थियो भने नेपाल सरकारबाट पेन्सन बुझेर सेवानिवृत्त जीवन बिताइरहेका ७३ वर्षे सुशीला कार्की, रामेश्वर खनाल र कुलमानहरु कसरी र किन अन्तरिम सरकारको नेतृत्वमा आए ? त्यसैले यो Gen-Z विद्रोहको मुल एजेन्डा भनेको पुस्तान्तरण नभई सुशासन ,पारदर्शिता र राजनीतिक स्थायित्व थियो ।
२. राजनीतिलाई जैविक (biological) पुस्तान्तरणको दृष्टिकोणबाट हेर्नु गलत हुन्छ । राजनीतिमा उमेर वा शारीरिक अवस्थाले भन्दा पनि राजनीतिक विचार, दूरदर्शिता र नेतृत्वको औचित्यले अर्थ राख्छ । त्यसैले जैविक (biological) पुस्तान्तरणको बिषय राजनितीमा हुदैन । राजनीतिमा त राजनीतिक लाइन /लिडरसिपको औचित्य पुष्टि गर्नुपर्दछ त्यसैले आजको Gen-Z आन्दोलनको मुख्य एजेन्डा (लाइन) भनेको :
(क) सुशासन – ०४६ सालको परिवर्तनपछिका राजनीतिक नेतृत्व र उच्चपदस्थ कर्मचारीहरु, ब्यापारीहरुको उच्चस्तरीय भ्रष्टाचार छानबिन तथा सम्पत्ति शुद्धीकरण आयोग मार्फत छानबिन गरि दोषी देखिएमा सम्पत्ति राष्ट्रियकरण गर्ने ।
(ख) राजनीतिक स्थायित्व – देशमा राजनीतिक स्थायित्वका लागि जनताबाट प्रत्येक्ष निर्वाचित राष्ट्रपति/प्रधानमन्त्री निर्वाचित गर्ने व्यवस्था गर्ने । पुर्ण समानुपातिक प्रणाली मार्फत सांसद निर्वाचित गर्ने
– विज्ञहरुबाट मन्त्रीमण्डल गठन गर्ने ।
– २ पटक भन्दा बढी देशको कार्यकारी पदमा निर्वाचित हुन नपाउने व्यवस्था गर्ने ।
माथि उल्लेखित मागहरु नेकपा ( माओवादी केन्द्र) ले काङ्ग्रेस /एमाले पार्टीको असहमतिका कारण संविधानसभाबाट पारित गराउन नसक्दा नोट अफ डिसेन्ट राखेका बिषयहरु हुन । त्यसैले यो Gen-Z को आन्दोलनले माओवादी पार्टीको नीति र नेतृत्वलाई खारेज गरेको नभई उसको दुरदर्शिता र औचित्य पुष्टि गरेको छ । त्यसैले यो आन्दोलनले, अहिलेको पुस्ता र देशकै वास्तविक अभिभावक र अग्रगामी शक्ति भनेको माओवादी पार्टी र यसको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) हो भन्ने पुष्टि गरेको छ ।
आज देशमा सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्वको तपाईंको अर्जुनदृष्टी Gen- Z को आन्दोलनमार्फत समग्र देश कै एजेन्डा बनेको छ । यि एजेन्डाहरुलाई संस्थागत गर्दै विधंसको ठूलो हुण्डरीले थला परेको देशलाई सम्हालेर सबैको अभिभावक बनी अगाडि बढ्नुपर्नेछ । तपाईंलाई यो वा त्यो बहानामा नेतृत्ववाट पन्छिने छुट छैन ।
३. प्रचण्ड नेतृत्वको सरकारले चलाएको भ्रष्टाचारका ठुला काण्डहरु छानवीन गरि सुशासन र पारदर्शीताको अभियानले देश र जनतामा छाएको आशा र विश्वासबाट अत्तालिएर रातारात अप्राकृतिकरुपमा काङ्ग्रेस /एमाले मिलेर प्रचण्ड सरकार ढालेको होइन र ? त्यसैले Gen-Z आन्दोलन प्रचण्ड नेतृत्वको सरकारको सुशासनको अभियानको निरन्तरता हो ।
४. केपी ओली नेतृत्वको सरकार बनेकै दिन देखि अध्यक्ष कमरेड प्रचण्डले ओलि/देउवाको गठबन्धनको उदेश्य , ओलिको निरङकुश रवैया, खुल्लमखुल्ला भ्रष्टाचार, बेथिति , राज्यका सबै निकायहरुको चरम दुरुपयोग र पार्टीकरणले जनतामा पैदा भएको निराशा र आक्रोश विष्फोट हुने र देश बंगलादेश, श्रीलंका बन्ने खतरा रहेकोबारे सबैलाइ बारम्बार सचेत गराएको होइन र ? त्यसैले Gen-Z आन्दोलनले प्रचण्ड एक दुरदर्शी नेतृत्व हुन् भन्ने पुष्टि भएको छ ।
५. पार्टी अध्यक्ष कमरेड प्रचण्ड ३०/३५ वर्ष देखि पार्टी नेतृत्वमा रहेको प्राविधिक विषयलाई योजनाबद्वरुपमा प्रतिक्रियावादीहरुले गरेको आक्रमणलाई कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुले किन बुझ्न नखोजेको या नचाहेको ?
– प्रचण्ड भनेको अन्य पार्टीहरुको जस्तो फगत औपचारिक नेता मात्रै होइन नेपाल जस्तो देशमा दुनियाँ हल्लाउने महान् जनयुद्धको तयारीदेखि हालसम्मको प्राधिकारपूर्ण बैचारिक तथा राजनैतिक नेतृत्व हो । त्यसैले प्रचण्ड व्यक्ति होइन लोकतान्त्रिक गणतन्त्र नेपालको विचार हो , आन्दोलन र जननि हो । त्यसैले राजावादीहरुले प्रचण्डलाई भौतिक र बैचारिकरुपमा नसिध्याई संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन सकिदेैन भनेर राम्रोसँग बुझेका छन् त्यसैले योजनाबद्व रूपमा सबैभन्दा बढी उनीहरुको निशानमा प्रचण्ड छन् । यो गम्भीर बिषय पार्टी भित्रका तरमाराहरुले नबुझेका होलान् कि ती परिचालित होलान् ।
– देशमा स्थापित, दुरदर्शी दृष्टिकोण भएको नेताको कति आवश्यक र महत्व छ भन्ने विषय रुसमा सन् २००० देखि निरन्तर राष्ट्र प्रमुख रहेका पुटिन जसकाे लागि संविधान संसोधन गरियो । चिनमा सि.जिनपिङ जसको नेतृत्वका लागि संविधानमा भएको २ कार्यकालको व्यवस्था हटाइयो । बंगलादेशमा भर्खरै भएको विधार्थि विद्रोहपछि विदेशमा रहेका नोवेल पुरस्कार विजेता ८५ बर्षिय डा. मोहम्मद यूनुसलाई ल्याएर अन्तरिम सरकारको प्रमुख बनाइयो । त्यसैले को कति बर्षको हो र कति बर्ष नेतृत्वमा छ भन्ने बिषय महत्त्वपूर्ण होइन राजनीतिमा महत्त्वपूर्ण त उसले लिएको तत्कालीन नीति र राजनैतिक एजेन्डा औचित्यपुर्ण छ कि छैन भन्ने हो । नीति र एजेन्डाको औचित्य सकिएको दिन स्वत: त्यो नेतृत्वको औचित्य समाप्त हुन्छ ।
– आज नेपाली राजनीतिको सबैभन्दा भ्रष्ट र अपराधीक मनोविज्ञान भएको केपी ओली र भ्रष्टाचारको संरक्षक बनेका शेर बहादुर देउवासँग प्रचण्डलाई एउटै तुलोमा राखेर पार्टी नेतृत्व गर्ने औचित्य र नैतिकता गुमाएको स्याल हुईयाँ पार्टी भित्रकै तरमाराहरुले जोडतोडले गरिरहेका छन् । के यो Gen-Z आन्दोलन र यसका एजेन्डाहरुका कट्टर विरोधी, भ्रष्टाचार र अनियमितताका संरक्षक केपी ओली/शेर बहादुर र सुशासनको अभियानका नेतृत्वकर्ता, Gen-Z आन्दोलनका एजेन्डाहरुका मुख्य समर्थक र यो व्यवस्थाका नायक कमरेड प्रचण्ड के एउटै हुन, उस्तै हुन त ?
– यो समयमा Gen-Z आन्दोलनले माओवादी पार्टीको नेतृत्व र एजेन्डा सहि भएको बिषय स्थापित गर्दै गर्दा ती एजेन्डाहरुलाई संविधानतः संस्थागत गर्न निर्णायक हस्तक्षेप र पहलकदमी लिनुको सट्टा दुलोभित्र लुकेर केपी/शेर बहादुर र प्रचण्ड एउटै/उस्तै हुन त्यसैले तुरुन्तै राजिनामा गर अब हामी नेतृत्व गर्छौ भन्न तिमी हुतिहारा तरमाराहरुलाई अलिकति पनि अप्ठ्यारो लागेन ।
– पार्टी संरचनामा र नेतृत्व कमरेड प्रचण्डमा जरुर समस्याहरु छन् । समस्या र सिमा नभएको यो दुनियाँमा आजसम्म कोही जन्मिएको छैन र जन्मिने पनि छैन । यसका वावजुद Gen-Z आन्दोलनले पार्टीमा मात्रै होइन कि देशमा नै प्रचण्ड जस्तो स्पष्ट राजनीति दृष्टिकोणसहितको दुरदर्शी डाइनामिक लिडर अरु नभएको पुष्टि गरेको छ । त्यसैले अतिरञ्जित र असान्दर्भिक बिषयले जनता र पार्टी कार्यकर्तालाई भ्रमित पारी आफ्नो व्यक्तिगत स्वार्थको रोटी सेक्न बन्द गरी वस्तुस्थितिको वस्तुनिष्ठ र तथ्यपरक मुल्यांकनसहित पार्टी नेतृत्वको वरिपरि गोलबन्द हुनु आजको आवश्यकता हो ।
– कमरेडहरु आन्दोलनको एजेन्डा र उदेश्यले हाम्रो पार्टी र नेतृत्व निसानामा पर्नुपर्ने थिएन तर पनि हाम्रो पार्टी यसको निसानामा पर्यो किनकि संसदीय व्यवस्थाका दुर्गन्धहरुले हामी पनि दुर्गन्धित बनेका छौं । हाम्रा कार्यशैली र जीवनशैलीले जनता हामीबाट असन्तुष्ट छन् । हाम्रा गल्तीहरुलाई सच्याएर परिस्थितिको ठोस विश्लेषण सहित अगाडि बढौं । चुनाव अगावै पार्टीको महाधिवेशन गरौ । पार्टीको संरचना र विधानमा आमूल परिवर्तन गरौं ।
– पार्टी नेतृत्व प्रत्यक्ष कार्यकर्ताबाट निर्वाचित हुने विधि सुनिश्चित गरौं ।
– पार्टीको कुनै पनि तहको कार्यकारी पदमा २ पटक , अन्य पदमा ३ पटक भन्दा वढी निर्वाचित हुन नपाउने ।
– पार्टीका हरेक तहहरुमा ४० प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित
– पार्टीमा राज्यको बनोटका आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित
– बढीमा १५१ को केन्द्रीय समिति १५ सदस्यीय पदाधिकारी निर्माण गरौ ।
– समानुपातिक प्रतिनिधित्व र राजनीतिक नियुक्तिहरुमा १ पटक भन्दा दोहोरिन नपाउने नीति बनाउँ ।
– भ्रष्टाचार ,अनियमितता र सांस्कृतिक विचलनमा संलग्नता भएको व्यक्ति पार्टी सदस्य बन्न नपाउने व्यवस्था गराैं ।
– नेताका सचिवालयहरुमा परिवार र आफन्तका सदस्यहरु बस्न नपाउने र सचिवालय २/२ वर्षमा परिवर्तन गर्ने व्यवस्था गराैं ।
– राजकीय अवसरहरु बाँडफाँड कार्यविधि निर्माण गरि सहिद परिवार/वेपत्ता योद्वा परिवारजन ,घाइते , अपांग पहिलो प्राथमिकतामा राख्ने
– केन्द्रीय अध्यक्ष देखि पार्टी सदस्यसम्म उत्पादन र श्रममा जोडिने । महिनाको १ दिन अनिवार्य सामुहिक श्रम गर्नुपर्ने
– पार्टी अनुशासन र कार्यकर्ता मुल्यांकन कार्यविधि निर्माण गरि छुट्टै अधिकार सम्पन्न संरचना निर्माण गरि दृढताका साथ कार्यान्वयन ।
– तहगत पार्टी स्कुलको पाठ्यक्रम तयार गरि कार्यकर्ता बढुवाको एक महत्त्वपूर्ण आधारका रुपमा पार्टी स्कुललाई स्थापित गरौ ।
– पार्टी अध्यक्ष कमरेड प्रचण्ड तपाईं नेपाल जस्तो भु-राजनीतिक भएको देशमा जनयुद्धको शंखघोष गर्दै आन्तरिक र बाह्य शक्ति सन्तुलनका आधारमा प्राप्त उपलब्धिहरुको संस्थागत गरि सफलतापुर्बक नेतृत्व गर्न सक्षम हुनुभयो र देशमा सामाजिक न्यायमा आधारित समानुपातिक / समावेशी प्रतिनिधित्वसहितको संघीय गणतन्त्र स्थापित गर्नुभयो । आज देशमा सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्वको तपाईंको अर्जुनदृष्टी Gen- Z को आन्दोलनमार्फत समग्र देश कै एजेन्डा बनेको छ । यि एजेन्डाहरुलाई संस्थागत गर्दै विधंसको ठूलो हुण्डरीले थला परेको देशलाई सम्हालेर सबैको अभिभावक बनी अगाडि बढ्नुपर्नेछ । तपाईंलाई यो वा त्यो बहानामा नेतृत्ववाट पन्छिने छुट छैन । देश र पार्टीलाई सहि लिगमा ल्याउन तपाईंले केही हप्ता अगाडि भने झै अर्को जनयुद्ध भन्दा पनि ठूलो संंघर्ष गर्नुपर्ने छ । तपाई सतिसाल बनेर उभिनुहोस्, हामी तपाईंको साथमा छौ । यो विषम परिस्थितिमा एकपटक पार्टी र देशले तपाईंको अभिभावकत्व खोजेको छ । Gen-Z आन्दोलनले प्रचण्डको राजनितीक औचित्य सकिएको होइन, झन् औचित्य बढेको हो ।
धन्यवाद !!!
(लेखक नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्)




