शुरू भयाे दशैं लक्षित सुपथ मुल्य पसल

मूलखबर संवाददाता
काठमाडौं, ३० भदौ ० भदौ

नेपालीको सबैभन्दा ठूलो चाड दशै नजिकै आएको छ । दशै नजिकिएसँगै विगत वर्षहरूमा जस्तै यसपटक पनि सुपथ मुल्य पसल सञ्चालन भएको छ छ ।

चाडपर्वमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियत पसल सुरु गरेका हुन् ।

‘विशेष परिस्थितिले औपचारिक उद्घाटन नभएपनि चाडपर्व लक्षित सुपथ पसल सुरु गरेका छौँ । सोमबार बिहानैदेखि सुचारु भएको पसलबाट सर्वसाधारणले अधिकतम लाभ लिन सक्छन्,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री विभाग प्रमुख भीमबहादुर थापाले भने,‘यसपटक ४५ जिल्लाका १ सय ११ स्थानबाट चाडपर्वलक्षित सुपथ पसल सुरु गरेका छौँ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चाडपर्वको छुट पसल सञ्चालन गरेको छ । लिमिटेडका सहमहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सोमबारदेखि सुरु भएको छुट पसलमा सर्वसाधारणले किलो २ देखी ७ रुपैयाँसम्म छुट पाउँछन् । ‘उपत्यकामा १२ सहित मुलुकभर ४० वटा बिक्री केन्द्रबाट छुट पसल सञ्चालन गरेका छौँ, सोमबार व्यापार सामान्य भएपनि अब दुईचार दिनमा व्यापार बढ्छ,’ उनले भने, ‘सर्वसाधारणको मागलाई मध्यनजर गर्दे ३ वटा घुम्ती पसल पसल पनि सञ्चालनमा ल्याएका छौँ ।’

साल्ट ट्रेडिङले सहुलियत पसलबाट प्रतिकिलो नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, सबै खाने तेल(लिटरमा ) ७ रुपैयाँ, चिउरामा ७ रुपैयाँ छुट दिएको जनाएको छ ।

त्यस्तै,प्रतिकिलो पिठोमा ७ रुपैयाँ, मैदामा ७ रुपैयाँ र दालमा ७ रुपैयाँ छुट दिएर बिक्री भइराखेको उनले बताए । खाद्य र साल्टबाहेक दुग्ध विकास संस्थान (डीडीसी)ले पनि छुटमा बिक्री गरेको छ । डीडीसीले दुग्धपदार्थमा ७० रुपैयाँसम्म छुट दिएको छ । सर्वसाधारणले एक लिटर घिउ खरिद गर्दा ७० रुपैयाँ छुट पाउने जनाएको छ ।