थारू समुदायले आज अटवारी पर्व मनाउँदै

मूलखबर संवाददाता
दाङ ८ भदौ

पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताउनुभयो । “यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।