नाडा अटाे साे मा दिनदिनै नयाँ गाडी, अवलोकनकर्ता बढ्दै

मूलखबर संवाददाता
काठमाडौं, ४ भदौ

नाडा अटो शो मा दिनदिनै नयाँ ब्रान्डका गाडीहरू सार्वजनिक गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले उदघाटन गरी शुरू भएको नाडामा पहिलो दिन मंगलबार विभिन्न ब्रान्डका ५ नयाँ गाडीहरू सार्वजनिक गरिएका छन् । यसअन्तर्गत सुजुकीको ई–भिटारा, बीवाईडी एटो–टु, टाटा टियागो ईभी नयाँ रङमा, नामी नयाँ एसयूभी ‘भिगो’, फोटन जी सेभेन रहेका छन् ।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा भदौ ८ सम्म प्रदर्शन हुने छ । गत वर्ष झंै यो वर्षको प्रदर्शनमा पनि इलेक्ट्रिक भेइकल (ईभी)को बाहुल्यता रहेको छ ।

पहिलो दिन लन्च भएमध्ये एक हो, सुजुकीको एसयूभी ई–भिटारा, जसलाई सुजुकीले पहिलो इलेक्ट्रिकको रूपमा प्रदर्शनमा राखेको छ । सेल्स अफिसर देवराज ढकालका अनुसार यसको ब्याट्री ४१ किलोवाट र ६१ किलोवाट गरी दुई भेरियन्टमा आउनेछ । ५०० किलोमिटरभन्दा बढीको रेन्ज भएको कम्पनीले जनाएको छ । यससँगै उक्त कमपनीले अटो शोमा ब्रेजा, जिम्नी र फ्रन्क्सजस्ता सफल मोडलहरू पनि बिक्री गर्न राखेका छन् ।

मंगलबार लन्च गरिएको अर्को सवारी हो, बीवाईडी एटो–टु । यो चिनियाँ ईभी निर्माता बीवाईडीले यसपटकको अटो शोमा नयाँ कम्प्याक्ट एसयूभी ‘एटो–टु’ ल्याएको छ । यो सावारी डल्फिन र एटो थ्रीको बीचको भेरियन्ट भएको बताइएको छ । जसमा १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक रहेको कम्पनीले जानकारी दिएको छ । नबिल बैंकसँगको सहकार्यमा ७ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपलब्ध छ ।

यसैगरी, टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले सफारी डिजेल मोडल लन्च गरेको छ । यससँगै, चर्चित ‘टियागो ईभी’लाई नयाँ ‘एरिजोना ब्लु’ रङमा सार्वजनिक गरेको छ । यो सवारीले २०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । त्यसैगरी, कमर्सियल भेइकल सेगमेन्टमा फोटनले जी सेभेन पिकअपलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ ।