काभ्रेकाे चौरी गाउँपालिकाले सहरमा बस्ने जनतालाई सेवामुलक शिवीर शुरू गर्दै
काभ्रेपलाञ्चोकका स्थानीय तहले सहर बस्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिन थालेका छन् । चौँरीदेउराली गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि शिविर सञ्चालनको तयारी गरेको छ ।भने तेमाल गाउँपालिकाले साउन तेस्रो साता शिविरमार्फत सहरमा बस्नेलाई आवश्यक सेवा दिएको थियो ।
विशेषगरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । चौँरी देउरालीले सार्वजनिक सूचना नै प्रकाशन गरी आजदेखि विभिन्न स्थानमा सेवा दिने जनाएको हो । करिब एकहप्ते शिविरमार्फत सेवा दिन सार्वजनिक गरी तालिकामा मिति र वडा नं उल्लेख गरी उक्त वडाका नागरिकलाई सेवा दिने जनाइएको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले आफ्नो पालिका अन्तरगतका नागरिकलाई बसेकै ठाएँमा पायक पर्ने गरी सेवा सुविधा उपलव्ध गराउन लागिएको जानकारी दिनुभयो । उहाँले पालिका भित्रका काठमाडौ, भक्तपुर, बनेपा, धुलिखेल, पनाैती लगायतमा बसाेबास गर्ने नागरिकका सामाजिक सुरक्षा भत्तालगायतका विषयमा पालिकाले सेवा दिन लागेको बताउनुभयो ।
सुचनामा भनिएकाे छ-
आ.व. २०८२/८३ को सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरणको लागि चौरीदेउराली गाउँपालिका वडा नं. ०५ पाेखरी चाैरी अन्तर्गत स्थायी ठेगाना भई हाल काठमाडौ, भक्तपुर, बनेपा, धुलिखेल, पनाैती लगायतका स्थान हरूमा अस्थायी रूपमा बसोवास गर्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राही स्वयम् ले भदाै ३ र ४ गते तपसिल अनुसारको स्थान र समयमा आवश्यक कागजात सहित उपस्थित भई नविकरण गर्नु गराउनु हुन अनुरोध गरिन्छ। साथै सो समयमा नविकरण गराउन छुट्नुहुने लाभग्राही यस वडा कार्यालयमा स्वयम् उपस्थित भई भदौ मसान्त सम्ममा नविकरण गरिसक्नु हुन अनुरोध छ।

यसअघि यही साउन तेस्रो साता जिल्लाको तेमाल गाउँपालिकाले साउन तेस्रो साता गाउँ छाडेर काठमाडौँ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो । गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । एकहप्ते शिविरबाट सामाजिक सुरक्षा भत्ता लिने पाँच सय ९१ नगरिकलाई सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले जहाँ गाउँपालिकाको नागरिक बस्छन् त्यही सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नवीनतम् कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजने योजना बनाउँदै गरेको बताउनुभयो । अभिलेख अद्यावधिकमा पनि टेवा पुगेको जनाउँदै गाउँपालिकाले उपत्यकालगायत सहरमा बस्नेले अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने जनायो ।





