इटहरीमा कानून व्यवसायी परिषद्को ३२औं स्थापना दिवस सम्पन्न, ८ व्यक्तित्व सम्मानित
इटहरीमा नेपाल कानुन ब्यवसायी परिषदको ३२ औं स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सर्वोच्च अदालतका माननीय न्यायाधीश बालकृष्ण ढकालको प्रमुख आतिथ्यता तथा कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिवक्ता रमेश पोखरेलले गर्नुभएको थियो।
कानून ब्यबसायी परिषदले गर्दै आएको कानून व्यवसायीको परीक्षा लिई रेकर्ड राख्ने, क्षमता विकास गर्न विभिन्न कार्यक्रम संचालन गर्ने, आचारसंहिता कार्यान्वयनमा जोड दिने जस्ता कार्य अझै प्रभावकारी रूपमा गर्नुपर्छ। कानुन ब्यवसायी पेशालाइ नैतिकवान र मर्यादित बनाउन र अध्ययन अनुसन्धान गर्ने समिति समेत बनाउनुपर्छ। साथै बार काउन्सिलले विभिन्न देशको कानूनी ज्ञान लिन कानून व्यवसायीलाई वैदेशिक भ्रमणको अवसरका लागी ति देशसँग सहकार्य गर्नुपर्छ भनी प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश ढकालले बताउनु भयो।
कार्यक्रममा उच्च अदालतका माननीय मुख्य न्यायाधीश राजन प्रसाद भट्टराई, मोरङ र सुनसरीका जिल्ला न्यायाधीश, प्रदेश मुख्य न्यायाधीवक्ता एवं कोशी प्रदेशका १४ जिल्लाका बार अध्यक्ष एवं वरिष्ठ अधिवक्ता र अधिवक्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ अधिवक्ता सिताराम राई, मोरङ बार अध्यक्ष हरिशंकर मण्डल, उच्च अदालत बार विराटनगरका अध्यक्ष विश्व राम भट्टराई, इनरुवा नगरपालिका मेयर केदार भण्डारि, झापा बारका अध्यक्ष वसन्त नेपाल लगायतका विशिष्ट वक्ताहरूले कानुन व्यवसायको महत्व, चुनौती र अवसरका बारेमा आफ्नो धारणा राख्नु भएको थियो।
कार्यक्रममा आधा शताब्दीभन्दा बढी समय कानुनी सेवा दिदै आउनुभएका वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने, उमेश चन्द्र न्यौपाने, अधिबक्ता देवि बहादुर घिमिरे तथा पूर्व पार्षद तथा वरिष्ठ अधिवक्ता माधव भट्टराई, रमेश कोइराला, भरत बहादुर थापा, प्रकाश बाबु पन्त र उद्धव चन्द्र घिमिरेलाई सम्मान समेत गरिएको थियो।
कानून व्यवसायीको हकहितको संरक्षण गर्न स्थापित कानून व्यवसायी परिषद (बार काउन्सिल) नेपाल कानून व्यवसायी परिषद ऐन, २०५० अन्तर्गत स्थापना भएको हो। सो ऐन २०५१। ४।२७ देखी पूर्णरुपमा लागू भएकोले यस परिषदले ३२ औ स्थापना दिवस मनाई रहेको छ। परिषदको अध्यक्ष महान्यायाधिवक्ता र उपाध्यक्ष नेपाल बार एसोसिएसनका अध्यक्ष रहने यस परिषदले कानून व्यवसायमा प्रवेश गर्नका लागी परीक्षा लिने, नाम दर्ता गर्ने एवं आचारसंहिता लागु गर्ने कार्य गर्दै आएको छ।
नेपाल कानून व्यवसायी परिषदको रेकर्ड अनुसार नेपाल कानून व्यवसायी परिषदबाट प्रमाण पत्र लिएका २१,५४० जना छन भने जसमा ४,२०० जना महिला छन।
अब, बार काउन्सिलले ३२ औ स्थापना दिवस मनाई रहदा वकालत पेशामा भबिष्य देखेर आउनु भएका नवप्रवेशी महिला कानून ब्यवसायीहरुको हक हित, अधिकार र सम्मानमा नवप्रवेशी महिला कानून ब्यवसायीहरुको क्षमता विकासमा लाग्नुपर्ने देखिन्छ। अनि महिला कानून व्यवसायीहरूले आफ्नो अधिकार प्राप्तिका लागी संगठित रुपमा “कानुन ब्यवसायी महिलाको आवाज” बुलन्द पार्न जरुरी रहेको भनी झापा बारकी सहसचिव एवं महिला समिति अध्यक्ष सानु कार्की बस्नेत “सिता”ले जानकारी दिनु भयो।




