नाइमा मोबिलिटी एक्स्पो २०२५ सम्पन्न, करिब एक लाख जनाले अवलोकन गरे
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पो सकिएको छ । अटोमोवाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी राजधानीको भृकुटिमण्डपमा साउन २१ गतेदेखी शुरु भएको एक्स्पो २६ गते म्पन्न भएको हो । एक्स्पोलाई करिब १ लाख जनाले अवलोकन गरेको आयोजकले बताएको छ । पाँच दिनका लागि आयोजित एक्स्पोमा अवलोकनकर्ता बढेपछि नाइमाले एक दिन समय थपेको थियो ।
अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको भन्दै उनीहरूको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि प्रदर्शन अवधि थपिएको नाइमाले जनाएको छ । एक्स्पोमा विभिन्न सवारीका ५० ब्रान्ड सहभागी थिए । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक नयाँ गाडी सार्वजनिक गरिएको थियो ।
नाइमाका अनुसार प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय अवलोकनकर्ता सहभागी भए । यस्तै चौथो दिन २१ हजार ५ सय, पाँचौं दिन २२ हजार र छैटौं दिन ७ हजार ८ सय जनाले अवलोकन गरेको नाइमाका मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले जनाए ।
६ दिनसम्म चलेको एक्स्पो करिब एक लाख जनाले अवलोकन गरेको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । ‘करिब एक लाख जनाले एक्स्पो अवलोकन गरे,’ उनले भनिन् । एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको उनको दाबी छ । ‘एक्स्पो एकदमै राम्रो भयो, रेसपोन्स पनि राम्रो आयो,’ उनले भनिन् । नाइमाले सवारी मात्र बिक्री नगर्ने र उपभोक्ता आवाजलाई साथमै लिएर अघि बढ्ने उनको भनाइ छ ।





