सुदूरपश्चिममा डेंगु रोगका बिरामीको संख्या ३ सय ४५
सुदूरपश्चिममा डेंगु रोगका बिरामीको संख्या ३ सय ४५ रहेको छ । यहाँका नौ जिल्लामध्ये सबै भन्दाबढी कैलाली र सबैभन्दा कम दार्चुलामा रहेका छन् ।
कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ । सन् २०२५ मा सो संख्याका बिरामी फेला परेका हुन् । स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए । सन् २०२४ मा कैलालीमा ५ सय २० जना डेंगुका बिरामी रहेका थिए ।
स्वास्थ्य कार्यालय कैलालीले लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिनाजस्ता कार्यक्रमले केही घटेको हुनसक्ने उनले बताए । उनले भने, ‘यो लामखुट्टेको टोकाइबाट लाग्ने एक किसिमको भाइरल रोग हो, यो बिहान समय र बेलुकाको समयमा बढी सक्रिय हुने गर्छ ।’
हाल सुदूरपश्चिमभरि यस रोगका बिरामीको संख्या ३ सय ४५ रहेको धामीले बताए । अहिलेसम्मको तथ्यांकअनुुसार बाजुरा र बझाङमा ५६ जना डेंगु रोगी रहेको उनले बताए ।
त्यसैगरी दार्चुलामा ७, बैतडीमा ३०, डडेल्धुरामा ५६, डोटीमा ३७, अछाममा ३५, कैलालीमा ७६ र कञ्चनपुरमा ४८ जना डेंगुका बिरामी रहेका रहेका छन् ।
देशभरिमा तीन जिल्लाबाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । मनाङ, डोल्पा र हुम्ला जिल्लाबाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । देशभरि २ हजार ७ सय २० जना डेंगु रोगका बिरामी रहेको धामीले बताए ।




