भैंसीपालन : फाईदा र चुनौतीबारे विज्ञको ५० टीप्स

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन

भैसी पालन गर्ने हो ? यसका फाईदा र चुनौतीबारे विज्ञको ५० टीप्सहरु पढ्नुहोस

१.नेपालमा पालिने उन्नत नश्लका दुधालु भैंसीका जातहरु के के हुन् ?

नेपालमा लोकप्रिय मुर्रा जातको भैंसी पर्छ । निली, रभी भन्ने भैंसीका जातहरु पनि प्रचलित छन् । स्थानीय भैंसीलाई मुर्रा रागोसँग क्रस गराई वर्णशंकर भैंसी गाउं-घरको लागि राम्रो मानिन्छ ।

२. नेपालमा मूर्रा भैंसी कुन क्षेत्रमा बढी पाईन्छ ?

खासगरी तपाई जिल्लाहरु मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, नवलपरासी, रुपन्देही, बांके, बर्दिया, दाङ्ग, कैलाली र कन्चनपुरमा बढी र राम्रो जातको मूर्रा भैंसी पाईन्छ ।

३. मूर्रा भैंसी हो नभनेर कसरी चिन्न सकिन्छ ?

मूर्रा भैंसीको सिङ घुम्रिएको, पुच्छरको टुप्पोमा सेतो फुर्को भएको, छाला कालो रंगको र नरम पिठ्यू चौडा एवं शरीरको तुलनामा टाउंको सानो तथा शरीरमा रौं कम भएको चिल्लो र राम्रो विकसित कल्चौडो भएको हुन्छ ।

४. मूर्रा भैंसीले कति सम्म दूध दिन्छ ?

राम्रो मूर्रा भैंसीले सरदर १५०० देखि २५०० लिटर दूध एक बेतमा दिन्छ ।

५. मूर्रा भैंसीको पाडी सामान्यतया कति उमेरमा पहिलो पल्ट व्याउने हुन्छ ?

सरदर राम्रो जातको मूर्राको पाडी तीन देखि साडे तीन वर्षको भएपछि व्याउने हुन सक्छ । (सरदर ४०-४२ महिना) ।

६. भैंसीको दूध गाईको दूध भन्दा किन बाक्लो र गुलियो हुन्छ ?

भैंसीको दूधमा चिल्लो पदार्थ ७ प्रतिशत हुन्छ र ल्याक्टोज र क्ल्ँ पनि गाईको दूधमा भन्दा बढी हुनाले बाक्लो र मिठो हुन्छ ।

७. स्थानीय जातका भैंसीहरु कुन कुन हुन् ?

लिमे, पार्कोटे, गड्डी स्थानीय भैंसीका जातहरु हुन् । गड्डी पश्चिमान्चलको पहाडी क्षेत्रमा पाईन्छ, स्थानीय भैंसीले सरदर एक बेतमा १०००-१२०० लि. दूध दिन्छ ।

८. के भैंसी पालनलाई अगाडी बढाउन कुनै सरकारी निकायले सहयोग गर्दछ ?

भैंसीको व्यवसायीक फार्म खोल्न र समूह सहकारीमा भैंसी पालेर दूग्ध व्यवसाय गर्न पशु सेवा विभाग, हरिहरभवन अन्तर्गत पशु उत्पादन निर्देशनालय र केन्द्रीय गाई भैंसी कार्यक्रमले प्राविधिक एवं अनुदान सहयोग गर्दछ । विभिन्न राष्ट्रियस्तरका आयोजनाहरु जस्तै व्यवसायिक कृषि तथा व्यापार आयोजना (PACT) ले पनि अनुदान सहयोग गर्दछ । विभिन्न अन्य कृषि सम्बन्धी आयोजनाहरु जस्तै किसानका लागि उन्नत बीउं बीजन कार्यक्रम (KUBK) र उच्चमूल्य कृषि वस्तु विकास आयोजना (HVAP) ले आफ्नो कार्यक्षेत्रमा सहयोग गर्दछ ।

९. भैंसी गोठ सुधारका लागि पनि सहयोग पाईन्छ ?

जिल्ला पशु सेवा कार्यालय, क्षेत्रीय पशु सेवा निर्देशनालयहरुमा सम्पर्क राखेर गोठ सुधार, भकारो सुधार, गोवरग्यांस, चरन एवं खके सुधार, जस्ता कार्यमा स९सानो अनुदान पाउन सकिन्छ ।

१०. भैंसीको बीमा हुन्छ की हुन्न ?

नेपाल सरकारले निर्जीवन बीमा कम्पनीहरु मार्फत भैंसी, पाडारपाडी, रांगाहरुको बीमा गर्न पाउने सुविधा सुरु गरेको छ ।

११. भैंसीको बीमा गर्न कहाँ सम्पर्क गर्नु पर्छ ?

सम्बन्धीत जिल्ला पशु सेवा कार्यालय, नजिकको पशु सेवा केन्द्रहरु ।निर्जीवन बीमा कम्पनीको कार्यालयहरु जस्तै एन.एल.जी इन्सुरेन्स कम्पनी, शिखर इन्सुरेन्स कम्पनी, लुम्बिनी इन्सुरेन्स कम्पनी आदि ।

१२. सरकारले पशु बीमामा सहुलिएत दिएको छ भन्छन् के सहयोग छ ?

पशु र भैंसी बीमा गर्दा बीमा कम्पनीलाई तिर्नु पर्ने बीमा गरे बापत लाग्ने प्रिमियम रकमको ७५ प्रतिशत रकम सरकारले किसानलाई अनुदान दिन्छ ।

१३. त्यस्तो बीमा प्रिमियम रकमको अनुदान प्राप्त गर्न कृषकले कहां जानु पर्छ ?

कृषकले आफ्नो (भैंसीरगाई) पशु बीमा गराउन आफ्नै घररगोठमा आउने बीमाको एजेण्ट वा प्रतिनिधिले नै प्रिमियममा लाग्ने खूद रकमको ७५ प्रतिशत कटाएर बांकी २५ प्रतिशत मात्र लिने गर्दछन् ।

१४. पशु बीमा एक पल्ट गरेपछि सधै भरीलाई (आजीवन) हुन्छ त ?

होईन, पशु बीमा एक वर्षका अवधिको लागि मात्र हुन्छ । एक वर्ष पुगेपछि फेरी बीमा पोलिसीलाई नवीकरण गर्नु पर्छ ।

१५. पशु (भैंसी) बीमा गरेर कस्तो जोखिमबाट बच्न सकिन्छ ?

बीमा गरेको भैंसी (पशु) बीमा अवधिमा कालगतिले दुर्घटनाले रोग लागेर उपचार गर्दागर्दै मृत्यू भएमा बीमा गरेको रकमको ९० प्रतिशत कम्पनीले किसान (बीमक) लाई फिर्ता गर्दछ र जोखिमबाट बचाउँछ ।

१६. भैंसीमा लाग्ने प्रमुख सरुवा रोगहरुले के के हुन् ?

भैंसीमा लाग्ने प्रमुख रोगमा खोरेत (FMP), भ्यागुते (HS), चरचरे (BQ), पटके (Anthrax) प्रमुख हुन् ।

१७. भैंसीमा लाग्ने प्रमुख परजीवी के के हुन् ?

भैंसीमा खास गरी दुःख दिने परजीवी नाम्ले जुका, गोलो जुका, भित्ते जुका, किर्ना, उपिया आदि हो ।

१८. नाम्ले जुका लागेको भैंसीले कस्तो लक्षण देखाउछ ?

रोगी भैंसीले माटो चाट्ने, च्यापु सुन्निने,पातलो गोवर गर्ने, खानमा कम रुची देखाउने, दुव्लाउने र गनाउने छेर्ने हुन्छ ।

१९. नाम्ले लागेको एकीन भएमा के औषधी दिने ?

प्राविधिकको सल्लाहमा औषधी किनेर दिनु पर्छ । पशु सेवा केन्द्र, जिल्ला पशु सेवा कार्यालयबाट केही मात्रामा निःशुल्क पनि पाईन्छ । विभिन्न थरीको झोल, ट्याब्लेट, वोलस फर्ममा नाम्लेका औषधी प्राविधिकको सल्लाहमा दिनु पर्छ । ज्यानिल, निलजान जस्ता झोल औषधी १०० मि.लि. । मुखबाट खुवाउनु पर्छ । डिस्टोडिन, फ्यसिनेम्ले, जस्ता वोलस औषधी पनि बजारमा पाईन्छ ।

२०. भैंसी पाडा र पाडी आदिमा गोलो जुका लागेमा कस्तो औषधी दिने ?

प्राविधिकको सल्लाहमा मात्रा मिलाएर औषधी दिनु पर्छ । एल्वेण्डाजोल, मेवेण्डाजोल, फेकेवेण्डोजो आदि समूहमा औषधीहरु प्रचलनमा छन् ।

२१. आन्तरिक परजीवीबाट भैंसीलाई बचाउन के गर्नु पर्छ ?

प्रत्येक ६र६ महिनामा सबै भैंसीको गोवर जचाएर औषधी नियमित दिने गर्नु पर्छ ।

२२. भ्यागुते रोग लाग्दा भैंसीले कस्तो लक्षण देखाउछ ?

एक्कासी उच्च ज्वोरो आउंछ ९१०५९१०७ डि।फरेनहाईट० । सास फेर्न असजिलो भै घ्यार घ्यार गर्छ । फिज काड्ने र घाटी र फिज सुन्ने हुन्छ ।

२३. भ्यागुते रोगको रोकथामरउपचार कसरी गर्ने ?

-रोग लागेको भैंसीलाई तुरुन्त ईमरजेन्सी उपचार गराउनु पर्छ ।

-कुनै राम्रो एन्टिवायोटिक सुई प्राविधिकको सल्लाहमा लगाउनु पर्छ ।

-वर्षमा दूई पल्ट भ्यागुते विरुद्ध खोप लगाउनु पर्छ।

२४. खोरेत रोग लाग्दा कस्तो लक्षण देखिन्छ ?

-मुख, जिब्रो, गिजामा घाउं आउने ।

-र्यामल, फिज बगाउने ।

-खुरको वीच भागमा घाउ हुने ।

-ज्वोरो आउने, दाना पानी खान नसक्ने ।

-दूधालु भैंसीको दूध सुक्ने र थुन र फाचोमा पनि घाउ आउन सक्छ ।

२५. खोरेत रोगको उपचार, रोकथाम कसरी गर्ने ?

-मुखको घाउमा एक प्रतिशत पोटास पानी, वा फिटकिरीले सफा गराउने ।

-खुरको घाउमा पोटास पानीले धोएर हिमेक्स मल्हम लगाउने ।

-फिनेल खुट्टा र गोठमा छर्नु पर्छ ।

-एण्टिवायोटिक सुई लगाउनु पर्छ ।

-वर्षमा दुई पल्ट खोरेत विरुद्ध खोप लगाउनु पर्छ ।

२६. भैंसीमा थुनेलको रोग लाग्दा कस्तो लक्षण देखाउछ ?

-अचानक कल्चौडा र थुन रातो तातो हुने सुनिने गर्दछ ।

-थुनबाट रगत फिज जस्तो छोक्रा भएको तरल पदार्थ आउछन् वा केही नआउने पनि हुन्छ ।

-भैंसीलाई दुखेर छुन नदिने गर्छ ।

२७. थुनेलोको उपचार कसरी गर्न सकिन्छ ?

-रोग नलागेको थुनबाट दूध पहिला दुहुनु पर्छ ।

-रोग लागेको थुनबाट आउने सम्म तरल पदार्थ निकालेर फाल्नु पर्छ ।

-थुन भित्र हाल्ने एण्टिवायोटिक मिश्रित मल्हम प्राविधिकको सल्लाहमा हाल्नु पर्छ ।

-एण्टिवायोटिक सुई पनि लगाउनु पर्ने हुन्छ।

-प्राविधिकको सल्लाहमा तुरुन्त उपचार गराउनु पर्छ ।

२८. गोठमा थुनेलो रोकथाम गर्न कसरी व्यवस्था गर्न सकिन्छ ?

-गोठ सफा राख्नु पर्छ ।

-दुहिने मानिसले हात राम्रोसँग धुनु पर्छ ।

-दूध दुहिसकेपछि चारै थुनलाई पोभिडिन आयोडिन मिसाएको पानीमा डुबाउने गर्नु पर्छ ।

-दुहुना भैंसी गाईको दूध भेटनरीमा लगेर नियमित जचाउने गर्नु पर्छ ।

२९. भैंसीमा पटके रोग लाग्दा कस्तो हुन्छ ?

पटके रोग अत्यन्त कडा रोग हो, जसले अचानक भैंसीरपशु मर्दछ रगोठमा पशु मरेको फेला पर्दछ । पटकेले मरेको पशुको मुख, नाक, घाटी, मलद्वारबाट नजम्ने कालो बाक्लो रगत बग्दछ ।

३०. पटके रोगबाट बचाएर उपचार गर्ने उपाय के हुन्छ ?

-मरेको भैंसी रपशु गाड्नु पर्छ । रगत अन्यत्र फैलिन दिनु हुदैन ।

-विरामी अवस्थामा रहेको भैंसीलाई पेनिसिलिन समूहको एण्टिवायोटिकबाट उपचार गर्ने । प्राविधिकको सल्लाहमा औषधी गराउने ।

-वर्षमा एक पल्ट पटके विरुद्ध खोप लगाउंने ।

३१. भैंसीलाई ज्वरो आउंने खोक्ने, स्वां: स्वाः गर्ने नाकबाट बाक्लो सिंगान बगाउने किन हुन्छ ?

-भैंसीमा निमोनिया भएको लक्षण हो ।

-यस्तो अवस्थामा ज्वोरो आउंने, दाना पानीमा कम रुची देखाउने पनि गर्छ ।

३२. निमोनियाको उपचार कसरी गर्न सकिन्छ ?

-पशुलाई न्यानो हुने गरी गोठमा व्यवस्था गर्नु पर्छ ।

-रोगी भैंसीलाई कम्तिमा ५ दिन सम्म पोनिसिलिन समूहको सुई लगाउनु पर्छ ।

-प्राविधिकको सल्लाहमा उपचार गराउने ।

३३. भैंसी समयमा बाली नजाने, उमेर पुगेर पनि पाडीले रांगो नखोज्ने वा रांगो लागेर पनि वा कृत्रिम गर्भाधान गरेर पनि व्याउने नहुने अवस्थालाई के भनिन्छ ?

भैंसीहरुमा बाझोपनको लक्षणले हो । यस्तो अवस्थामा दूईबेतको अन्तर पनि बढी हुन सक्छ ।

३४. भैंसीमा बाझोपनको उपचार कसरी गर्ने ?

-गोवर परिक्षण गराई परजीवीको संक्रमण छ भने उपचार गर्ने ।

-गुणस्तरीय दाना र हरियो घांस प्रशस्त दिने ।

-दानामा खनिजतत्व (क्याल्सियम, फस्फोरस) र भिटामिन (भिटामिन ए.डि.ई.) थप व्यवस्था गरेर दिनु पर्छ ।

-प्राविधिकको सल्लाहमा जांच गराई रांगो खोज्ने औषधी खुवाउने । सुई लगाउने गर्नु पर्छ ।

३५. भैंसीकों भण्डार फर्कने समस्या हुंदा के गर्नु पर्छ ?

-भैंसी व्याउने बेला भएपछि सम्म सजिलो ठाउंमा राख्नु पर्छ ।

-टाउकोको भाग ओरालो तर्फ पारेर बस्ने गरी व्यवस्था गर्ने ।

-अप्ठ्यारो स्थितिमा तुरुन्त प्राविधिक सहयोग लिनु पर्छ ।

-बाहिर निस्केको भागमा फोहर बस्न दिनु हुन ।

३६. भैंसी व्याउने बेथा लागेर पनि समयमा व्याउन सकेन भने के गर्नु पर्छ ?

-यस्तो अवस्थामा तुरुन्त प्राविधिक सहयोग लिनु पर्छ ।

-प्राविधिकले पाठेघर भित्र हात हालेर अवस्था अनुसार उपचार गर्छ ।

३७. भैंसीको साल अड्कने समस्याको उपचार कसरी हुन्छ ?

भैंसी व्याएको १० घण्टा सम्म साल नझरे प्राविधिकको सहयोग लिनु पर्छ ।

स्थानीय खस्रो घांस खान दिन पर्छ । एक्जापार औषधी १०० मि.लि. खुवाउनु पर्छ ।

३८. व्यवसायिक भैंसी पालन गर्दा रोग रोकथामका लागि खोपहरु के कसरी लगाउन सकिन्छ ?

व्यवसायिक भैंसी र पशुपालन गर्ने फर्महरुले नियमित रुपमा तालिका राखेर खोरत, भ्यागुते, पटके रोग विरुद्ध खोप लगाउनु पर्छ । साथै आन्तरिक परजीवी नियन्त्रण गर्न वर्षमा दुई पल्ट औषधी खुवाउनु पर्छ ।

३९. भैंसीको वंश सुधार गर्न के योजना सरकारको रहेको छ ?

-पशु सेवा विभागबाट पशु नश्ल सुधार राष्ट्रिय कार्यक्रम संचालनमा छ ।

-उन्नत जातको रांगो लगाउने ।

-कृत्रिम गर्भाधान गराउने ।

४०. पशु नश्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम सबै जिल्लामा संचालन भएको छ ?

तराईका सबै जिल्ला एवं मध्य पहाडका पशु पालनमा अग्रणी जिल्लाहरुमा यो कार्यक्रम संचालनमा छ । यो कार्यक्रममा परेका जिल्लामा व्यापक रुपले कृत्रिम गर्भाधान कार्यक्रम संचालन गरिदै छ ।

४१. भैंसीमा कृत्रिम गर्भाधारण कतिको सफल छ ?

कृत्रिम गर्भाधान गाईको तुलनामा भैंसीमा केही कम प्रतिशतमा सफल छ । नेपालमा ४० देखि ५० प्रतिशत सफल रहेको पाईएको छ ।

४२. भैंसीको श्रोत केन्द्र नेपालमा कहां छ ?

खास श्रोत केन्द्र भन्ने हाम्रो तराईका जिल्लाहरुमा नै हो जहां भैंसीपालन व्यापक गरिन्छ । सरकारी भैंसी फार्म पोखरा र सुनसरीको ईटहरीमा रहेको छ ।

४३. भैंसी पालनको लागि प्रमुख विषय रहेको चरन तथा आहाराको लागि कस्तो व्यवस्था गर्नु पर्छ ?

भैंसी उग्राउने पशु जाति भएकोले रेसादार घांस पराल तथा सन्तुलित दाना पेट भरी दिनु पर्छ । चरन भएमा राम्रो हुन्छ । बधुवा पालन प्रणाली पनि उपयुक्त हुन्छ । पराललाई टुक्रा पारेर, पानीमा भिजाएर अन्य पोषिलो हरियो घांसपातसंग मिलाएर दिनु राम्रो हुन्छ । पिठो, ढूटो, मिनरल मिक्स्चर एवं भिटामिन र भेली मिलाएर संतुलित दाना बनाउन सकिन्छ ।

४४. पराललाई यूरिया उपचार गरेर पोष्टिक बनाउन सकिन्छ भन्छन् के हो ?

१०० के.जी. पराललाई २ प्रतिशत यूरिया पानीले भिजाएर एक महिना प्लाष्टिकले ढाकेर राख्ने र एक महिना पछि भैंसीलाई दिन राम्रो हुन्छ । ५ के.जी.परालमा ३० ग्राम भेली तथा २ देखि ४ ग्राम यूरिया घोलेको पानीले भिजाएर एक घण्टा पछि खुवाउन सकिन्छ । यूरियाले कुनै भैंसी (पशु) मा नराम्रो असर पनि पर्न सक्छन् । हेर विचार गरेर मात्र दिनु पर्छ ।

४५. मिनरल ब्लक भनेको के हो रु यो गोठमा राख्नु पर्छ ?

खनिज तत्वहरु नून, क्याल्सियम, फोसफोरस, आइरन, आयोडिन जस्ता खनिजतत्व, मैदा र भेली मिलाएर बनाएको खनिज ढिक्कालाई मिनरल ब्लक भनिन्छ । पशुको लागि मिनरल सजिलो तरिकाले दिन गोठमा मिनरल ब्लक झुण्ड्याउनु गर्नु राम्रो हुन्छ ।

४६. पाडा हुर्काउने कार्यक्रममा सरकारी अनुदान छ भनिन्छ कसरी प्राप्त गर्ने ?

आफ्नो जिल्लाको जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्न पर्छ । एक व्यवसायीले १० भन्दा बढी पाडा पालेर हुर्काउने गरेको छ भने अनुदानको लागि निवेदन गर्न सक्छ । जिल्ला भित्रको त्यस्तो व्यवसाय गर्ने कृषकहरु मध्येबाट उत्कृष्टहरुलाई आथिर्क अनुदान जिल्ला पशु सेवा कार्यालयले उपलव्ध गराउदछ ।

४७. पशु उत्पादन निर्देशनालयले संचालन गरेको युवा लक्षित व्यवसायिक पशु प्रवद्र्धन (गाई, भैंसी, बंगुर, बाख्रा) कार्यक्रममा सहभागी हुन के के प्रक्रिया पूरा गर्नु पर्छ ?

-यो स्वरोजगार प्रवर्द्धन कार्यक्रम हो ।

-यूवा सहभागी १८ देखि ५० वर्ष भित्रको हुनु पर्छ ।

-जिल्ला पशु सेवा कार्यालयबाट प्राप्त हुने आवेदन फाराम अनुसार सबै विवरण खोलेर निवेदन दिनु पर्छ ।

-प्रस्ताव माग भएको सूचना अनुसारको समयसिमा भित्र सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिएर छनोट प्रक्रियामा सहभागी हुन सकिन्छ ।

४८. मिल्किङ्ग मेशिन खरिदमा अनुदान छ भनिन्छ रु कस्तो अवस्थामा सरकारी अनुदान पाईन्छ ?

कुनै पशुपालक व्यवसायी र सहकारीले २० माउभन्दा बढी भैंसीरगाई पालन गरेको छ र मिल्किङ्ग मेशिन खरीद गर्दछ भने मेशिन खरिदमा ५० प्रतिशत अनुदान पाउने व्यवस्था छ ।

४९. पशु विकास श्रोत केन्द्र, पशु जन्य उत्पादन एवं प्रशोधन जन्य उद्योग स्थापनामा सरकारी सहयोग अनुदान दिने संस्थाहरु पनि छन् ?

जिल्ला पशु सेवा कार्यालय, क्षेत्रीय पशु सेवा निर्देशनालयहरुमा सम्पर्क राखि यस्तो अनुदान दिने कार्यक्रम वारे जानकारी लिन सकिन्छ । कृषि मन्त्रालय अन्तर्गत व्यवसायिक कृषि तथा व्यापार आयोजना (PACT) बाट यस्तो ठूला कार्यक्रममा सहकार्य हुने गरेको छ। (PACT) आयोजनाले प्रस्ताव आह्वान गर्दा माग गरेको सबै विवरण संलग्न गरी निवेदन दिएर छनोट कार्यमा सहभागी हुन सकिन्छ । छनोट भएको व्यवसायीले ५० लाख सम्म अनुदान प्राप्त गर्न सक्छ ।

५०. गाई र भैंसीको लागि तयारी पूर्ण आहारा ब्लक (TMR Black) पाईन्छ भन्छन् कस्तो हुन्छन् ?

भैंसीरगाईलाई चाहिने आहारा पराल, गहुंको चोकर, हरियो घांसपात, पिना, खनिजतत्व, नून, भेली मिलाएर बनाएको कम्प्रेसड फिड ब्लकलाई पूर्ण आहारा ब्लक (TMR Black) भनिन्छ । यो नेपालको लागि नयां भए पनि विदेशतिर धेरै पहिलेबाट प्रचलनमा थियो । यस्तो ब्लक ढुवानी गर्न सजिलो एवं बाढी पहिरो जस्तो संकट अवस्थामा ज्यादै उपयोगी हुन्छ।- कृषि प्रेस