वैदेशिक रोजगारी : आत्महत्या र मानसिक असन्तुलन समस्या बढ्दाे

मूलखबर संवाददाता
काठमाडौं, २३ साउन ।

रोजगारीको सिलसिलामा नेपालबाट भिजिट भिषा वा वर्किङ भिषामा दुबई पुगेका नेपालीहरुमा मानसिक समस्या देखिन थालेको बताइएको छ । त्यसैगरी उनीहरुमा आत्महत्याका दर पनि बढ्दै गएको पाइएको छ । पाँचथरका एक युवक मानसिक स्वास्थ्यमा समस्या देखिएपछि एक महिनाअघि संयुक्त अरब एमिरेट्समा रहेका नेपाली समुदायको सहयोगमा नेपाल फर्किए।

विगतमा सशस्त्र द्वन्द्वमा माओवादी लडाकु रहेका उनी अयोग्य ठहरिएपछि नेपालमा राम्रो रोजगारीको अवस्था नभएको भन्दै केही महिनाअगाडि मात्रै युरोप लगिदिने एक एजेन्टको प्रलोभनमा दुबई पुगेका थिए। सुरुमा क्रोएसिया पुर्‍याइदिने बताएका एजेन्टले दुबईमा पुगेपछि पोल्यान्ड लैजाने भन्दै उनीसँग बाँकी रहेको सबै रकम लिइदिए।

आबुधावीस्थित नेपाली दूतावासको तथ्याङ्क अनुसार सन् २०२४ मा २७४ जना नेपालीहरूको मृत्यु भएको थियो जसमा स्वाभाविक मृत्यु हुनेको सङ्ख्या १६० रहेको छ भने ४३ जनाले आत्महत्या गरेका छन्। त्यस्तै दुर्घटनामा परेर ३५ जनाको मृत्यु भएको छ।

सन् २०२५ को ज्यानुअरी महिना यतामात्रै १६९ जनाको मृत्यु भएकोमा २५ जनाले आत्महत्या गरेको दूतावासकी नियोग उपप्रमुख रञ्जिता दाहालले बताइन्। अहिले मानसिक स्वास्थ्य समस्या र आत्महत्या दर बढिरहेको देखिएको उनी बताउँछिन्। त्यसरी बढ्नुमा त्यहाँ पुग्ने नेपालीको अपेक्षा अनुसार काम र सेवा सुविधा नरहनु र नेपालबाटै ऋणमा आएका कारण आर्थिक बोझ पनि रहनु जस्ता कारणहरू रहेको उनले बताइन्।

उनले भनिन्, ‘केही कम्पनीको दूतावासमा अटेस्ट गरिने कन्ट्र्याक्टमा भएको माग र नेपालका एजेन्सीहरूले भन्ने जागिरको विवरण फरक हुने गरेको छ। हाम्रा मानिसहरूले नहेरी हस्ताक्षर गर्नुहुन्छ। त्यसलै भने अनुसार काम र तलब यहाँ आएपछि हुँदैन।’

यसरी कतिपय मानिसहरूले जागिरको वास्तविक सम्झौताभन्दा फरक सम्झौता बुझेर नेपालबाट आउने र काम गर्ने कम्पनीमा गइसकेपछि जागिरको प्रकृति र पाउने तलब धेरै नै फरक हुने कारणले नेपालीहरूले जागिर छोड्ने गरेको पनि उनले बताइन्। त्यसरी जागिर छोडेपछि अर्को जागिर नपाएको अवस्थामा वैदेशिक रोजगारीमा जानेहरू मानसिक तनावमा पर्ने गरेको उनले बताइन्।

‘नेपालबाट धेरै ऋणमा आउनुभएको हुन्छ अपेक्षा अनुसार नभएपछि तनावमा जानुहुन्छ। कम्पनी छोडेर हिँड्ने गर्नुहुन्छ। प्राय कम्पनीले नै बस्ने व्यवस्था गरिदिने हुनाले अर्को जागिर नपाउँदासम्म कोठा भाडा लिएर बस्न पनि महँगो पर्छ। ‘ त्यसरी बीचमै जागिर छोडिदिँदा भोलि दाबी गर्न पनि समस्या हुने गरेको उनले बताइन्।

त्यसबाहेक बिना श्रम सम्झौता कागज बिना नै केवल भिजिट भिसामा गएर काम गर्ने मानिसहरूको हकमा दूतावासले आर्थिक लगायत कारणले उद्धार गर्न नसक्ने उनले बताइन्। बीबीसीको सहयोगमा