झापामा छ महिनामा लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता
झापामा छ महिनामा लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।
गत माघ १ देखि हालसम्म ब्राउनसुगर ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट, स्पास्पेन ३० हजार १६६ चक्की, स्पास्म एक हजार ६०९ चक्की, गाँजा एक किलो ४०० ग्राम बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले आफू दमक आएपछि शान्ति सुरक्षा व्यवस्थापन, अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्त्वपूर्ण कार्य भएको दाबी गरे ।
जिल्लाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल-६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आउनुभएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।
बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आउनुभएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।




