ऐना पहरा बस दुर्घटना अपडेट : ९ घाइते, १ गम्भीर

मूलखबर संवाददाता
तनहुँ, १८ साउन

गोरखाबाट नारायणगढ तर्फ जादै गरेको बस आँबुखैरेनी स्थित ऐना पहरा नजिकै दुर्घटना भएकोमा ९ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाकाे अवस्था गम्भीर छ ।

आइतबार दिउँसो करिब १६:२० बजेको समयमा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा नाै जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेका मध्ये गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–६ की ४० वर्षीया सुनु थापा गम्भीर घाइते भएकी छन्। उनलाई प्रारम्भिक उपचारका लागि आँबुखैरेनी अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि १६:४० बजे थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज (CMC) रेफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

त्यसैगरी गोरखा नगरपालिका–९ का ५४ वर्षीय सनबहादुर गुरुङ मध्यम घाइते भएका छन् भने सहिद लखन गाउँपालिका–६ कै ४३ वर्षीया सिता थापा, २८ वर्षीया मिना थापा र तनहुँको आँबुखैरेनी गाउँपालिका–१ की ७ वर्षीया खुशी रामदाम सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बसबाट हालसम्म ५ जनाको सकुशल उद्वार गरिएको छ । उद्वार गरिएका मध्ये १ जना महिला गंभिर घाईते भएका कारण उपचारकोलागि चितवनको पुरानो मेडिकल कलेज लगिएको छ ।

उद्वार गरिएका मध्ये ४ जनाको आँबुखैरेनी स्थित अस्पतालमा उपचार जारी रहेको छ । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालकका अनुसार बस भित्र अरु पनि यात्री भएको हुनसक्ने आशंकामा अहिले प्रहरीले क्रेनको सहायताले बसलाई उठाउने तयारी भइ रहेको छ ।

दुर्घटना भएको बसको अग्र भागमा पुग्न मुस्किल भएको कारण बस भित्र केही यात्रु च्यापिएको हुन सक्ने अनुमान गरिएको छ ।

विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।